पार्टी पुनर्गठन गरेर एकता कायम गर्छौं — झलनाथ खनाल

ecopolinews.com

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विभाजित अवस्थाबाट गुज्रिएको पार्टीलाई पुनर्गठन गरी एकीकृत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आफ्ना निकट नेताहरूको भेलामा सहभागी हुँदै नेता खनालले पार्टीलाई सशक्त र एकताबद्ध बनाउन नयाँ संरचना र सोचसहित पुनर्गठनको तयारी भइरहेको बताए।

उनले हाल पार्टी विभिन्न टुक्रा–टुक्रामा बाँडिएको उल्लेख गर्दै त्यसलाई एकीकृत रूप दिने आवश्यकता औंल्याए। “पार्टीलाई फेरि सिंगो बनाउने हाम्रो लक्ष्य हो,” खनालले भने, “पुनर्गठनको माध्यमबाट संगठनलाई बलियो बनाउनेछौं।”

एमालेमा फर्कने सम्भावनाबारे प्रश्न उठ्दा खनालले स्पष्ट जवाफ दिँदै भने, “उचित वातावरण बने कुनै आपत्ति छैन। तर केपी ओलीले ‘घर फर्क’ भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्छ र बस्ने ठाँउ पनि तयार हुनुपर्छ।”

उनले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउनका लागि आफूहरू निरन्तर छलफलमा रहेको जानकारी दिए। खनालका अनुसार, अहिलेको लक्ष्य वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र वामपन्थी एकतालाई पुनर्जीवित गर्नु हो।

प्रतिक्रिया