काठमाडौं, १० असोज । पूर्व राष्ट्रपति तथा नेकपा (एमाले) की नेतृ विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक प्रसङ्गमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कडा प्रहार गरेकी छिन्। उनले नेताहरू बाहिर त शक्तिशाली वक्तव्य दिने तर आफ्नै दलभित्र कार्यान्वयन गर्न असमर्थ देखिने प्रवृत्तिलाई चिर्दै आलोचना गरिन्।
भण्डारीले भनिन्, “दलका नेताहरू बाहिर धेरै बोल्छन् तर पार्टीभित्र केही गर्न सक्दैनन्। यो तरिकाको मैले आज सार्वजनिक रूपमा आलोचना गरेकी हुँ। नेताहरूले दलको मर्म र भावनाअनुसार काम गर्न सक्नुपर्छ।”
उनले नयाँ पुस्ताको सोच, माग र आकांक्षालाई बेवास्ता गर्न नहुनेतर्फ दलहरूलाई सचेत गराउँदै भनिन्, “नयाँ पुस्ता कसरी आइरहेको छ, उनीहरूको मनोभावना के छ, र राष्ट्रले त्यसलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरामा राजनीतिक दलहरू गम्भीर हुनुपर्छ।”
भण्डारीको यो टिप्पणीले ओलीको नेतृत्व शैलीप्रति आन्तरिक असन्तुष्टि मात्र होइन, एमालेभित्रको नेतृत्वगत कमजोरी पनि उजागर गरेको राजनीतिक विश्लेषकहरूको मूल्याङ्कन छ।