काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउँदै पार्टीभित्रको पुरानो र नयाँ नेतृत्वलाई जोड्ने महत्वपूर्ण निर्णय गरेको छ। असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने १४औँ महाधिवेशनका निवर्तमान केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय कांग्रेसले गरेको हो।
आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वडा अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ। विशेष महाधिवेशनपछि केन्द्रीय समितिबाट बाहिर रहेका नेताहरूलाई समेत वडा तहबाटै १५औँ महाधिवेशनको प्रक्रियामा फर्किने अवसर दिइएको कांग्रेसले जनाएको छ।
कांग्रेसको संशोधित विधानअनुसार अब केन्द्रीय सदस्यहरू पनि आफ्नो सम्बन्धित वडाबाट निर्वाचित हुँदै माथिल्लो तहको अधिवेशन प्रक्रियामा अघि बढ्नुपर्नेछ। विगतमा जस्तो केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छैन।
वडा हुँदै केन्द्रसम्म कसरी पुग्छ कांग्रेसको महाधिवेशन प्रक्रिया?
कांग्रेसको महाधिवेशनको यात्रा मूलतः वडा → पालिका → प्रदेश निर्वाचन क्षेत्र → प्रतिनिधिसभा निर्वाचन क्षेत्र → जिल्ला → प्रदेश → केन्द्रीय महाधिवेशन हुँदै अघि बढ्छ। वडा तहबाट सुरु हुने निर्वाचन प्रक्रियाले क्रमशः माथिल्लो तहका प्रतिनिधि तथा नेतृत्व चयन गर्दै अन्ततः केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशनसम्म पुर्याउँछ।
यही प्रक्रियामा सहभागी हुन १४औँ महाधिवेशनका निवर्तमान केन्द्रीय सदस्यहरूलाई समेत बाटो खोलिएको हो। पूर्णबहादुर खड्का र शेखर कोइरालालगायत नेताहरूले विशेष महाधिवेशनपछि बाहिर रहेका नेताहरूलाई पुनः समेट्न आग्रह गर्दै आएका थिए।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार अद्यावधिक तथा गत पुससम्म नवीकरण भएका सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसकिएको छ।
अब कांग्रेसको राजनीतिक नजर असोज ३ गते सुरु हुने वडा अधिवेशनदेखि असोज १६–१९ गते हुने १५औँ महाधिवेशनसम्म केन्द्रित भएको छ। काठमाडौंको खुलामञ्चमा उद्घाटन तथा बन्दसत्र गर्ने तयारी छ।
यो निर्णयले कांग्रेसभित्रको आगामी नेतृत्व प्रतिस्पर्धासँगै पार्टी एकता, पुराना नेताको पुनः प्रवेश र नयाँ नेतृत्व निर्माणको दिशासमेत निर्धारण गर्ने संकेत दिएको छ।