तारकेश्वरका एसईई विद्यार्थीलाई 'परिवर्तन अभियान नेपाल'को भव्य सम्मान

ecopolinews.com

रविन्द्र कट्टेल - काठमाडौँ - हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै उत्तीर्ण भएका काठमाडौँको तारकेश्वर नगरपालिकाका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरिएको छ । 'परिवर्तन अभियान नेपाल' ले शनिबार आयोजना गरेको विशेष कार्यक्रममा तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयबाट सफलता प्राप्त गर्ने विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सम्मान गरिएको हो । कार्यक्रममा उपस्थित राष्ट्रिय स्तरका नेता, सांसद तथा स्थानीय जनप्रतिनिधिहरूले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नभई संस्कारयुक्त शिक्षा हासिल गर्न र स्वदेशमै आफ्नो भविष्य निर्माण गर्न विशेष जोड दिएका छन् ।

किताबी ज्ञानसँगै नैतिक आचरण अनिवार्य

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद अर्जुननरसिंह केसीले सम्मानित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरू नै राष्ट्रको वास्तविक भविष्य भएको उद्घोष गर्नुभयो । शिक्षाको अर्थ केवल प्रमाणपत्र र किताबी ज्ञानमा मात्र सीमित नहुने तर्क गर्दै नेता केसीले विद्यार्थीको जीवनमा अनुशासन र नैतिक मूल्य-मान्यताको महत्त्व सर्वाधिक हुने कुरामा जोड दिनुभयो । जीवनको यस महत्त्वपूर्ण र नयाँ खुड्किलोमा पाइला टेक्दै गर्दा निकै सुझबुझका साथ सही निर्णय लिन र अरूको लहैलहैमा नलागी नितान्त आफ्नो रुचि र क्षमता अनुसारको विषय छनोट गर्न उहाँले विद्यार्थीहरूलाई महत्त्वपूर्ण सुझाव दिनुभयो ।

'पढाइसँगै सीप सिकौँ, विदेशिनुको सट्टा देशमै केही गरौँ'

समारोहमा युवा सांसदहरूको उत्साहजनक उपस्थिति र सम्बोधनले विद्यार्थीहरूमा थप ऊर्जा थपेको थियो । सांसद खुम्बु ओलीले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो । आफूले १६ वर्षकै उमेरदेखि काम गर्न थालेको दृष्टान्त पेस गर्दै उहाँले विद्यार्थीहरूलाई 'पढाइसँगै सीप र काम गर्ने बानी बसाल्न' सल्लाह दिनुभयो । यसले युवाहरूलाई आर्थिक रूपमा सबल मात्र नभई अनुशासित समेत बनाउने उहाँको भनाइ थियो । साथै, सांसद ओलीले अभिभावकहरूलाई आफ्ना सन्तानको तुलना अरूसँग नगर्न र उनीहरूको रुचिको विषयलाई प्राथमिकता दिन आग्रह गर्दै, स्वदेशमै भविष्य खोज्न सकिने वातावरण निर्माणका लागि आफूहरूले संसद्मा नीतिगत तहमा काम गरिरहेको प्रष्ट पार्नुभयो ।

यसैगरी, अर्का सांसद केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्राको स्मरण गर्दै विद्यार्थीहरूलाई विदेश पलायन हुने प्रवृत्तिको अन्त्य गरी स्वदेशमै भविष्य खोज्न आह्वान गर्नुभयो । देशमै बसेर समाज र राष्ट्रमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने दिशामा युवा पुस्ताले ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद निष्कल राईले पनि विद्यार्थीहरूलाई राजनीतिक र सामाजिक रूपमा सचेत रहँदै देश विकासको मूल प्रवाहमा जोडिन उत्प्रेरित गर्नुभयो ।

एक महिनासम्म निःशुल्क परामर्श र छात्रवृत्तिको घोषणा

आयोजक संस्था 'परिवर्तन अभियान नेपाल' ले विद्यार्थीहरूको आगामी शैक्षिक यात्रालाई सहज बनाउन महत्त्वपूर्ण घोषणाहरू समेत गरेको छ । संस्थाका अध्यक्ष सुशील भट्टले विद्यार्थीहरूका लागि आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराउने घोषणा गर्नुभयो । यसका अतिरिक्त, आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न संस्थाले विभिन्न प्लस टु कलेजहरूसँग समन्वय गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्तिको विशेष व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

शैक्षिक जागरण र समाज रूपान्तरणमा अध्यक्ष भट्टको निःस्वार्थ योगदान

यसै सन्दर्भमा, समाज रूपान्तरण र शैक्षिक उन्नयनका लागि अहोरात्र खटिइरहने 'परिवर्तन अभियान नेपाल'का अध्यक्ष सुशील भट्टको योगदानको समेत उपस्थित अतिथिहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए । विगत लामो समयदेखि तारकेश्वर र समग्र काठमाडौँको शैक्षिक तथा सामाजिक क्षेत्रमा उहाँले पुर्‍याउँदै आउनुभएको अनवरत र निःस्वार्थ सेवाले समाजमा सकारात्मक प्रभाव पारेको कुरा वक्ताहरूले औंल्याएका थिए । शिक्षाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ विपन्न र जेहेन्दार विद्यार्थीहरूको सारथि बनेर शैक्षिक जागरण ल्याउन भट्टले खेलेको नेतृत्वदायी भूमिकालाई समाजले सधैं उच्च सम्मानका साथ हेर्ने कुरामा जोड दिइएको थियो । उहाँकै परिकल्पना र अथक प्रयासको फलस्वरूप आज सयौं विद्यार्थीहरूले सही मार्गदर्शन र अवसर प्राप्त गरिरहेको यथार्थले उहाँको सामाजिक उत्तरदायित्वप्रतिको अगाध निष्ठालाई प्रमाणित गर्दछ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले राज्यले नेपालको समग्र शैक्षिक सुधारमा गम्भीर भएर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले नगरपालिकाको समग्र शैक्षिक अवस्थाबारे प्रकाश पार्दै सामुदायिक र संस्थागत दुवै प्रकृतिका विद्यालयको नतिजामा सुधार आएकोमा खुसी व्यक्त गर्नुभयो । नगरपालिकाले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेको उहाँले जानकारी दिनुभयो । समारोहमा पृथ्वी नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण काप्री, हिसान तारकेश्वरका अध्यक्ष धन पुन लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना मन्तव्य राखेका थिए ।

सम्मानसँगै सांस्कृतिक उल्लास

औपचारिक भाषण र सम्मानको कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन विद्यार्थीहरूद्वारा विभिन्न आकर्षक सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएको थियो । कार्यक्रममा विशेष गरी 'श्री महांकाल माई बाँसुरी खलक' द्वारा प्रस्तुत गरिएको सुमधुर बाँसुरी वादन र छात्राहरूको आकर्षक नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो । यी प्रस्तुतिले कार्यक्रममा थप रौनक र उल्लास थपेको थियो । समारोहको अन्त्यमा ४.० जीपीए ल्याउने उत्कृष्ट विद्यार्थीहरू सहित एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरी उनीहरूको हौसला बढाइएको थियो ।


प्रतिक्रिया