संविधान संशोधन छलफल बहिष्कार गर्ने जेन–जीको निर्णय

ecopolinews.com

काठमाडौं । संविधान संशोधनको विषयमा सुझाव संकलन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बोलाएको छलफल कार्यक्रममा जेन–जी अगुवाहरू सहभागी नहुने भएका छन् । स्पष्ट एजेन्डा र उद्देश्यबिनै औपचारिकता पूरा गर्न मात्रै बोलाइएको निष्कर्ष निकाल्दै उनीहरूले सिंहदरबार नजाने निर्णय गरेका हुन् ।

जेन–जी अगुवा उपार्जुन चाम्लिङ का अनुसार संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलका लागि आमन्त्रण गरेको थियो । कार्यदलले दुई वटा छुट्टाछुट्टै पत्रमार्फत २९ जना प्रतिनिधिलाई बोलाएको जनाएको छ ।

तर, छलफलको विषयवस्तु, उद्देश्य र प्रक्रियाबारे स्पष्ट जानकारी नदिइएको भन्दै बिहीबार रातिसम्म चलेको आन्तरिक परामर्शपछि जेन–जी समूहले सामूहिक रूपमा कार्यक्रममा सहभागी नहुने निर्णय गरेको हो ।

कार्यदलले शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म सिंहदरबारस्थित सगरमाथा हलमा छलफल कार्यक्रम तय गरेको थियो । सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह को नेतृत्वमा संविधान संशोधनको प्रारम्भिक मस्यौदा तयार गर्न कार्यदल गठन गरेको छ ।

उक्त कार्यदलले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधि, संविधानविद्, पत्रकार तथा सरोकारवालासँग सुझाव संकलन गरिसकेको छ । अन्तिम चरणमा युवा पुस्ताको धारणा लिन जेन–जी अगुवाहरूलाई आमन्त्रण गरिएको भए पनि उनीहरूले प्रक्रिया पारदर्शी र सार्थक नभएको आरोप लगाउँदै सहभागिता अस्वीकार गरेका हुन् ।

जेन–जी समूहको यो निर्णयलाई संविधान संशोधन प्रक्रियामा युवा पुस्ताको असन्तुष्टि र सरकारप्रतिको अविश्वासका रूपमा समेत हेरिएको छ ।

प्रतिक्रिया