काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज (आइतबार) पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्ष पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
पदभार ग्रहण गरेसँगै मन्त्री गुप्ताले मन्त्रालय र मातहतका सबै निकायका बैठकहरू ‘लाइभ’ प्रसारण गर्ने निर्णय गरेका छन्। उनले भने, “अब मन्त्रालयको सबै कार्य पारदर्शी र जवाफदेही हुनेछ।”
गुप्ताको यो पहिलो निर्णयलाई सुशासन र पारदर्शितातर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ। उनले युवा, खेलकुद तथा संस्थागत सुधारका कार्यक्रमहरूलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
१० कार्तिक २०८२, आईतबार ०५:४९ मा प्रकाशित