कीर्तिपुरमा प्रहरीको 'इन्काउन्टर': विपिन घिमिरेका हत्या आरोपीलाई घुँडामा गोली हानेर पक्राउ !

ecopolinews.com

काठमाडौंको कीर्तिपुरस्थित चोभारमा प्रहरी र हत्याका आरोपीबीच तनावपूर्ण मुठभेड भएको छ। गत वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा २२ वर्षीय विपिन घिमिरेको क्रूर हत्या गरेर लामो समयदेखि फरार रहेका मुख्य आरोपी कैलाली खाँडा चक्र नगरपालिका का बीस वर्षीय सुजन शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। चोभारमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई देख्नासाथ शाहीले उल्टै प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए।

आक्रमणपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा दुई राउन्ड हवाई फायर गर्दै चेतावनी दिएको थियो। तर, चेतावनीका बाबजुद आरोपी उग्र बनेर आक्रमणमै उत्रिएपछि बाध्य भएर प्रहरीले शाहीको दाहिने घुँडाको पछाडि एक राउन्ड गोली हानी उनलाई नियन्त्रणमा लिएको एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन्। धारिलो हतियारको निर्मम प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। सोही जघन्य अपराधपछि लुक्दै हिँडेका शाही अन्ततः प्रहरीको सटिक अपरेसनपछि फन्दामा परेका छन्।

प्रतिक्रिया