काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी तीव्र भएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रधानमन्त्री शाहलाई आगामी नोभेम्बर २३ देखि २५ सम्म भारत भ्रमण गराउने गरी तयारी अघि बढाइएको छ। यद्यपि भ्रमणको मिति भने अझै औपचारिक रूपमा टुंगो लागिसकेको छैन।
प्रधानमन्त्री शाह अहिले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका छन्। अमेरिकाको वर्तमान भ्रमण उनको पहिलो विदेश यात्रा भए पनि भारत भ्रमण भएमा त्यो उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ। भारतले यसअघि नै प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निम्तो दिएको पुष्टि गरिसकेको छ।
सम्भावित भारत भ्रमणका क्रममा नेपाल–भारत कनेक्टिभिटी, ऊर्जा, व्यापार, पूर्वाधार तथा बाढीपछिको पुनर्निर्माण लगायतका विषय प्राथमिकतामा पर्न सक्ने बताइएको छ। भारतीय पक्षसँगको छलफलमा आर्थिक तथा ऊर्जा सहकार्य विस्तारका विषय पनि महत्वपूर्ण रहने सम्भावना छ।
त्यसैगरी, लामो समयदेखि चर्चामा रहेका रक्सौल-काठमाडौं रेलमार्ग तथा जनकपुर-अयोध्या यात्रु रेल सेवा लगायतका कनेक्टिभिटी परियोजनालाई अघि बढाउने विषयमा समेत छलफल हुन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहको भारत भ्रमणबारे नेपाल र भारतबीच प्रारम्भिक तहमा छलफल अघि बढिसकेको देखिए पनि ठ्याक्कै मिति र औपचारिक कार्यक्रम सार्वजनिक हुन बाँकी छ। संयुक्त राष्ट्रसंघको महासभाका क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच पनि सम्भावित भ्रमणबारे प्रारम्भिक छलफल भएको रिपोर्ट सार्वजनिक भएको छ।
अब मुख्य चासो भनेको-बालेनको सम्भावित दिल्ली भ्रमणमा नेपाल-भारत सम्बन्धका कुन विषयले प्राथमिकता पाउँछन् र त्यसबाट ठोस सहमति वा सम्झौता के-के अघि बढ्छन्?