रविन्द्र कट्टेल
नेपाली पत्रकारिताको इतिहास रगत, पसिना र अदम्य साहसले लेखिएको छ। निरंकुश पञ्चायतको सेन्सरसिप, संकटकालका बेला ब्यारेकभित्रबाट गरिएका सम्पादन, उपकरण लुटिँदाका कहालीलाग्दा दिनहरू र प्रेसमाथि लगाइएका फलामे प्रतिबन्धहरूलाई चिरेर आएको नेपाली मिडिया आजसम्म कसैको धम्की र त्रासमा झुकेको छैन। तर, पछिल्लो समय राजधानीका प्रमुख सञ्चारगृहहरू– कान्तिपुर, अनलाइनखबर र हिमालयन टेलिभिजनको मूल ढोकामै नियोजित रूपमा गरिएको 'पार्किङ आतङ्क'ले सिंगो लोकतन्त्रलाई गिज्याइरहेको छ। यो केवल बाटो छेक्ने सामान्य ट्राफिक नियमको उल्लंघन होइन, यो त स्वतन्त्र प्रेसको घाँटी निमोठ्न खोज्ने राज्यसत्ता र नयाँ राजनीतिक शक्तिको काँतरपन र फाँसीवादी चिन्तनको भद्दा प्रदर्शन हो।
मिडियालाई तर्साउन खोज्ने राज्य र तिनका मतियारहरू कहिल्यै लोकतान्त्रिक हुन सक्दैनन्। हिजो बन्दुकको नाल र सत्ताको बुटसँग नतर्सिएको नेपाली मिडिया आज यो सस्तो र कायरतापूर्ण 'राज्य सञ्चालित पार्किङ आतङ्क'बाट तर्सिन्छ भन्ठान्नु सत्ताको भयानक भ्रम मात्र हो।
सुनियोजित घेराबन्दी: शक्तिको आडमा काँतरपनको प्रदर्शन
सोमबार बिहानै काठमाडौंका सडकमा जे देखियो, त्यो कुनै संयोग थिएन, त्यो त मिडिया हाउसहरूविरुद्ध रचिएको एक संगठित र कुत्सित घेराबन्दी थियो। तीनकुनेस्थित कान्तिपुर, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको गेट अगाडि ठ्याक्कै आवागमन नै ठप्प हुने गरी शंकास्पद गाडीहरू तेर्स्याइनुले एउटा भयानक षड्यन्त्रको पर्दाफास गरेको छ। मिडिया हाउस मात्रै नभएर भाटभटेनी र न्यूरोड जस्ता सार्वजनिक स्थलहरूलाई समेत अस्तव्यस्त पार्ने यो हर्कतले आम नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने र हिँडडुल गर्न पाउने मौलिक अधिकारमाथि ठाडो हस्तक्षेप गरेको छ। यो राज्यको कानुनलाई आफ्नो जुत्ताको चप्पल सम्झनेहरूको खुला दादागिरी हो।
शक्तिको उन्माद र राजनीतिक प्रतिशोधको गन्ध
घटनाका भित्री तहहरू केलाउँदै जाँदा भेटिएका प्रमाणहरूले यो ‘पार्किङ आतङ्क’को तार सिधै राजनीतिक शक्तिकेन्द्रसँग जोडिएको प्रस्ट पारेका छन्। कान्तिपुर अगाडि तेर्स्याइएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व पदाधिकारी रवि जयसवालको हुनु, र अनलाइनखबरको गेट थुन्ने सुजन पौडेलले "मलाई त्यहाँ पार्किङ गर्न मन लाग्यो, गरेँ" भन्दै मिडियालाई नै चुनौती दिनु सामान्य अहङ्कार होइन। यो त सत्ता र शक्तिको आडमा हुर्किएको नयाँ अधिनायकवादको संकेत हो।
अझ गम्भीर कुरा त, रास्वपाकै निवर्तमान केन्द्रीय सदस्य मधुसुदन ढकालले यसलाई 'सांकेतिक जानकारी' भन्दै खुलेआम धम्कीपूर्ण भाष्य निर्माण गर्नुले यो सिंगो काण्डलाई सत्ता या शक्तिको उन्मादमा रचिएको 'नाङ्गो प्रतिशोध' प्रमाणित गरिदिएको छ। आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिन नसक्नेहरूले मिडियाको ढोका थुनेर सत्यलाई बन्धक बनाउन खोज्नु राजनीतिको चरम पतन हो।
लाचार राज्य संयन्त्र: मतियार बनेको प्रहरी प्रशासन
यो सम्पूर्ण काण्डमा राज्य संयन्त्रको भूमिका सबैभन्दा शंकास्पद र निन्दनीय रह्यो। मिडिया हाउसहरूले बिहानै प्रहरीलाई गुहार्दा, मन्त्रीहरूलाई समेत प्रत्यक्ष जानकारी गराउँदा पनि घण्टौंसम्म गाडीहरू नहटाइनुले राज्यको नियतमाथि गम्भीर प्रश्न उठाएको छ। "विस्फोटक पदार्थको जाँच गर्दैछौं" भन्ने बहानामा प्रहरी प्रशासनले जुन सुस्ती देखायो, त्यसले उनीहरू नागरिकको सुरक्षामा होइन, मिडियालाई तर्साउने शक्तिहरूको मतियार बनिरहेका छन् भन्ने आशंकालाई बलियो बनाएको छ। जब राज्यको सुरक्षा संयन्त्र नै मिडियामाथिको यस्तो चौतर्फी प्रहारमा रमिते बन्छ र आक्रमणकारीलाई सुम्सुम्याउँछ, तब बुझ्नुपर्छ– यो राज्य आफैं प्रतिशोधको आगोमा घिउ थपिरहेको छ।
आवाजविहीनहरूको घाँटी निमोठ्ने प्रपञ्च: लोकतन्त्रमाथिको प्रहार
लोकतन्त्रमा किन यस्तो हुँदैछ? किनकि, सत्य उजागर गर्ने ऐनासँग अनुहार दाग भएकाहरू सधैं डराउँछन्। राज्य र शक्तिको वरिपरि रहेकाहरूले जब आफ्ना गल्तीहरू लुकाउन सक्दैनन्, तब उनीहरू मिडियामाथि जाइलाग्छन्। यो आक्रमण केवल तीनवटा सञ्चारगृहमाथिको भौतिक अवरोध होइन; यो त आम नेपाली जनताको सूचना पाउने हकमाथिको सांघातिक प्रहार हो।
मिडियालाई तर्साएर निरीह बनाउन सकियो भने जनताको आवाज स्वतः बन्द हुन्छ भन्ने कुटिल मनसाय यसभित्र लुकेको छ। यस्ता कार्यले समाजमा भय, त्रास र अराजकताको विजारोपण गर्छ। आम नागरिकलाई "हामीले जे गरे पनि हुन्छ, हाम्रो विरोध गर्नेहरूको हालत यस्तै हुन्छ" भन्ने सन्देश दिन खोजिएको छ। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लोकतन्त्रलाई ‘भीडतन्त्र’ र ‘अराजकतन्त्र’को रूपमा चित्रित गर्नेछ, जसको मूल्य अन्ततः आम जनताले चुकाउनुपर्नेछ।
निर्भिक सत्यको उद्घोष: तर्सिने छैन नेपाली मिडिया
राज्यसत्ता र नव-अधिनायकवादी सोच राख्नेहरूले एउटा कुरा स्पष्ट बुझ्दा हुन्छ– सत्यको जगमा उभिएको पत्रकारिता कसैको धम्की, घेराबन्दी र 'पार्किङ आतङ्क'को भरमा घुँडा टेक्ने छैन। मिडियाको ढोकामा गाडी तेर्स्याएर विचार र समाचारको मुहान थुन्न सकिँदैन।
जनताको आवाज दबाउन खोज्नु र मिडियासँग प्रतिशोध साँध्नु भनेको आफैंले टेकेको लोकतन्त्रको हाँगा काट्नु हो। समयमै यस्ता अराजक र कानुन हातमा लिने तत्त्वहरूलाई कानुनी कारबाहीको दायरामा नल्याउने हो भने, यो लोकतान्त्रिक राज्य व्यवस्थामाथि नै सबैभन्दा ठूलो व्यंग्य हुनेछ। सञ्चारगृहका ढोका थुन्ने दुस्साहस गर्नेहरूले बुझून्— नेपाली मिडिया हिजो पनि स्वतन्त्र थियो, आज पनि छ र भोलि पनि कसैको रैती बन्ने छैन। सत्यलाई थुन्ने कुनै पनि पार्किङ या पर्खाल आजसम्म बनेको छैन। तस्बिर : AI