काठमाडौँ:
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो चार वर्षे सफल कूटनीतिक कार्यकाल पूरा गरी स्वदेश फर्किने भएका छन्। आफ्नो कार्यकाल समापनको पूर्वसन्ध्यामा राजदूत श्रीवास्तवले मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री वालेन्द्र शाहसँग औपचारिक विदाई भेट गरेका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध सदैव सुमधुर र प्रगाढ रहँदै आएको स्मरण गरे। हालै नेपालमा गएको विनाशकारी बाढीपहिरो र विपद्को संवेदनशील घडीमा भारत सरकारले पुर्याएको तत्काल सहायता, उद्धार तथा राहत सामग्रीका लागि प्रधानमन्त्री शाहले विशेष धन्यवाद ज्ञापन गर्दै राजदूत श्रीवास्तवलाई सफल कार्यकालको बधाई तथा आगामी यात्राको शुभकामना व्यक्त गरे।
सो अवसरमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच थुप्रै महत्त्वपूर्ण र दूरगामी विकास परियोजनाहरू सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरे। आफ्नो नेपाल बसाइका क्रममा नेपाल सरकार र आम नेपाली जनताबाट प्राप्त निरन्तर सहयोग, सद्भाव र आत्मीयताका लागि उनले गहिरो आभार प्रकट गरे।
ऊर्जा सहकार्य र ऐतिहासिक फड्को
२५ जुन २०२२ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका श्रीवास्तवको कार्यकाल विशेषगरी ऊर्जा सहकार्य र सीमापार कनेक्टिभिटीका दृष्टिले अत्यन्तै फलदायी साबित भएको छ। उनकै कार्यकालमा नेपालबाट भारततर्फ दीर्घकालीन रूपमा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने ऐतिहासिक समझदारी सम्पन्न हुनुका साथै तेस्रो देश बंगलादेशसम्म नेपाली विद्युत् व्यापारको ढोका खुलेको थियो।
आर्थिक साझेदारी र विपद्मा प्रभावकारी समन्वय
दुई देशबीचको व्यापारिक र जनस्तरको सम्बन्धलाई थप उचाइमा पुर्याउन उनको कार्यकालमा निरन्तर संवाद र सहकार्य भएको छ। नेपाल–भारत वाणिज्य तथा उद्योग संघको समन्वयमा ‘बिजनेस क्लाइमेट सर्वे’, ‘इन्भेस्टमेन्ट गाइडबुक’ तथा ‘आलु शिखर सम्मेलन’ जस्ता महत्त्वपूर्ण व्यावसायिक पहलहरू उनकै पालामा अघि बढाइएका थिए।
यसका साथै, पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीको विपद्मा खोज, उद्धार, राहत सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन भारत सरकारका तर्फबाट प्रभावकारी समन्वय गर्दै श्रीवास्तवले आफ्नो कुशल कूटनीतिक क्षमता प्रदर्शन गरेका थिए। प्रधानमन्त्रीसँगको यस महत्त्वपूर्ण विदाई भेटसँगै कूटनीतिक सफलताको छाप छाड्दै उनी छिट्टै स्वदेश फर्किनेछन्।Reportersnepal