काठमाडौं महानगरपालिकाले “उज्यालो महानगर” योजनामा तीव्र प्रगति गर्दैछ। मेयर बालेन शाहले जानकारी दिएका छन् कि काठमाडौं महानगरको लगानीमा १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडान भइरहेको छ। अहिलेसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन् भने बाँकी सबै लाइट दशैंअघि प्रज्वलित हुने तयारीमा छन्।
अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई अहिले इलेक्ट्रिकल प्रणालीमा विस्थापित गरेर बलिरहेको छ।
साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद र जडानको अन्तिम चरणमा पुगिसकेको छ। योजना सम्पन्न भएपछि यसै वर्षभित्रै काठमाडौं पूर्ण रूपमा उज्यालो हुने अपेक्षा गरिएको छ।
मेयर शाहले नागरिकलाई लक्षित गर्दै भने, “उज्यालो महानगर हाम्रो पहिलो प्राथमिकता हो। अब ती सबै काम तीव्र गतिमा अघि बढिरहेका छन्। हाम्रो उद्देश्य काठमाडौंलाई सुरक्षित, आधुनिक र उज्यालो शहर बनाउनु हो।”
७ असोज २०८२, मङ्गलबार ०६:११ मा प्रकाशित