काठमाडौं । नेपाल प्रहरीमा पाँच डीआईजी पद रिक्त हुँदै गर्दा बढुवाको प्रतिस्पर्धा तीव्र बनेको छ। चार पद अहिले र अर्को एक पद कात्तिकमा खाली हुने भएपछि १६ जना वरिष्ठ अधिकृतबीच प्रतिस्पर्धा सुरु भएको छ।
हाल एसएसपी दर्जामा रहेका ११२औँ टोलीका १५ जना र अघिल्लो बढुवाका एकजना गरी १६ अधिकारी डीआईजीका दाबेदार बनेका छन्। यो टोलीका अधिकृतहरू सन् १९९९ (२०५६ असार ३) मा इन्स्पेक्टरमा नियुक्त भएका र २०८० वैशाख २४ मा एसएसपीमा बढुवा भएका हुन्।
प्रतिस्पर्धीमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन्।
अघिल्लो बढुवामा ३२औँ नम्बरमा परेकी एसएसपी शारदा चौधरी हालसम्म सोही दर्जामा छन्। उनको हालै मिर्गौला प्रत्यारोपण भएपछि स्वास्थ्य कारणले बढुवामा अनिश्चितता बढेको छ।
गृह मन्त्रालयले कात्तिक पहिलो सातामै बढुवा सिफारिस गर्ने तयारी गरेको छ। सोही बेला डीआईजी सञ्जीव शर्मा दास अवकाश हुँदैछन्, जसपछि पाँचौँ पद पनि रिक्त हुनेछ।
बढुवा होडभित्रको प्रतिस्पर्धा
भदौको ‘जेन–जी आन्दोलन’का बेला काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी विश्व अधिकारी अहिले छानबिनमा परेका कारण बढुवाबाट रोकिएलान् भन्ने अनुमान छ। यदि उनी रोकिए भने भुपेन्द्र खत्री र सानुराम भट्टराई वरियतामा अगाडि आउने सम्भावना बढेको छ।
वरियता अनुसार बढुवा भए अधिकारी, खत्री, भट्टराई, ओमप्रसाद अधिकारी र शेखर खनालको नाम अघि आउनेछ। तर, व्यवसायिक दक्षता र कार्यसम्पादनका आधारमा मूल्यांकन भएमा सोमेन्द्रसिंह राठौर र तारादेवी थापा पनि प्रतिस्पर्धामा बलिया बन्न सक्ने अनुमान छ।
संगठनभित्रको रस्साकस्सी
प्रहरी संगठनभित्र बढुवा प्रक्रियालाई लिएर आन्तरिक रस्साकस्सी देखिएको छ। केही अधिकृतबीच एकअर्काविरुद्ध प्रचार र अफवाह फैलाउने गतिविधि बढेपछि संगठनमै असन्तोष फैलिएको स्रोतले बताएको छ।
संगठनमा उच्च व्यावसायिक क्षमता राख्ने यो टोलीभित्रका सबैजना प्रशंसित भए पनि पद सीमित भएकाले धेरैजना यो पटक बढुवाबाट वञ्चित हुने निश्चित देखिन्छ।