काठमाडौं, ११ असोज । नेपाल प्रहरीको इमानदार, प्रतिबद्ध र दक्ष अधिकारीका रूपमा परिचित एसएसपी होबिन्द्र बोगटी अब ललितपुरका प्रमुख प्रहरी अधिकारीमा नियुक्त भएका छन् । गृह मन्त्रालयले हालै गरेको सरुवाअनुसार, ललितपुरका तत्कालीन प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालय पठाइनेछ भने बोगटीलाई ललितपुरमा जिम्मेवारी दिइने तयारी भइरहेको छ।
होबिन्द्र बोगटीको प्रहरी जीवन निरन्तर मेहनत, व्यावसायिकता र जनसेवामा आधारित रहेको छ। आर्थिक अपराध अनुसन्धान महाशाखा प्रमुखको रूपमा उनले ठूला वित्तीय घोटाला र ठगी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका छन्। डिजिटल र साइबर अपराध नियन्त्रणमा देखाएको सक्रियता र दक्षताले नेपाल प्रहरीको छविलाई अझ उच्च बनाएको छ।
हालैको जेनजी आन्दोलनका कारण उपत्यकाका सुरक्षा संरचनामा फेरबदल हुँदै गर्दा काठमाडौं र भक्तपुरका प्रहरी प्रमुख परिवर्तन भइसकेपछि ललितपुरमा पनि नेतृत्व परिवर्तन हुँदैछ। यस सन्दर्भमा बोगटीको नियुक्तिलाई रणनीतिक र सकारात्मक कदमको रूपमा हेरिएको छ।
उनको नेतृत्वले ललितपुरमा अपराध नियन्त्रण, जनसुरक्षा र शान्ति कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। एसएसपी बोगटीको ईमानदार, पारदर्शी र प्रतिबद्ध कार्यशैली नेपाल प्रहरीको उज्यालो छविलाई अझ सशक्त बनाउने विश्वास नागरिकहरू माझ पनि व्यापक रूपमा छ।
नेपाल प्रहरीमा जनविश्वास बढाउने र सुरक्षा संरचना सबल बनाउने क्रममा एसएसपी होबिन्द्र बोगटीको नियुक्ति एक महत्वपूर्ण मोडका रूपमा देखिन्छ, जसले मुलुकको शान्ति र सुरक्षा कायम राख्न नयाँ ऊर्जा थप्ने निश्चित छ।