प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देशः ‘दललाई निषेध गरेर अघि बढ्न सकिँदैन, परिवर्तन आत्मसात गर्नुपर्छ’

ecopolinews.com

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको भूमिका अस्वीकार गरेर देश अघि बढ्न नसकिने स्पष्ट संकेत गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा बोल्दै प्रधानमन्त्री कार्कीले दलहरूलाई परिवर्तनलाई आत्मसात गर्दै जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरिन्।

उनले भनिन्, “जेनजीहरू हामी सबैका छोरा–नाति हुन्। उनीहरूले किन असन्तुष्टि जनाइरहेका छन् भन्ने बुझ्नुपर्छ। परिवर्तनलाई स्वीकार्दै नयाँ पुस्ताको भावना आत्मसात गर्न दलहरू तयार हुनुपर्छ।”

प्रधानमन्त्री कार्कीले सरकार स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन प्रतिबद्ध रहेको बताइन्। उनले निर्वाचन दलहरूको सहभागिताबिना सम्भव नहुने उल्लेख गर्दै शान्ति–सुरक्षाको व्यवस्थामा सरकारले पूर्ण जिम्मेवारी लिने विश्वास दिलाइन्।

बैठकमा प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए। त्यही अवसरमा एमाले र कांग्रेसका नेताहरूले भदौ २४ गते लुटिएका प्रहरीका हतियार र जेलबाट भागेका कैदीबन्दीहरू अझै पक्राउ नपरेको विषय उठाउँदै सुरक्षा सुदृढ नगरी निर्वाचन सम्भव नहुने टिप्पणी गरेका थिए।

प्रधानमन्त्री कार्कीले दलहरूबीच सहमति, आपसी विश्वास र जनआकांक्षाको सम्मानमार्फत स्थायित्व र लोकतान्त्रिक संक्रमणलाई सफल बनाउने दृढता प्रकट गरेकी थिइन्।

प्रतिक्रिया