चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौवटा एकसिंगे गैँडाको मृत्यु भएको छ। निकुञ्ज क्षेत्र, मध्यवर्ती सामुदायिक वन तथा आसपासका क्षेत्रहरूमा ती गैँडा मृत अवस्थामा फेला परेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार मर्ने गैँडामध्ये पाँचवटा भाले, तीनवटा पोथी रहेका छन् भने एउटा गैँडाको लिंग पहिचान हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानअनुसार एक गैँडाको मृत्यु विद्युतीय करेन्ट लागेर भएको पुष्टि भएको छ भने बाँकी सबै गैँडाको मृत्यु प्राकृतिक कारणबाट भएको जनाइएको छ।
पछिल्लो घटना पुस २२ गतेको हो। कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा अन्दाजी ३५ वर्षको भाले गैँडा मृत भेटिएको थियो। “गैँडा आपसमा जुध्दा मृत्यु भएको अनुमान गरिएको छ। खाग र खुर सुरक्षित अवस्थामा छन्,” सूचना अधिकारी मगरले बताए।
निकुञ्जका अनुसार हरेक वर्ष गैँडा विभिन्न कारणले मर्ने गरेका छन्। प्राकृतिक मृत्युका साथै विद्युतीय करेन्ट लाग्ने, गैँडाबीच जुध्ने, दलदलमा फस्ने जस्ता कारण प्रमुख रहेका छन्। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा हाल ६९४ वटा एकसिंगे गैँडा रहेका छन्।
गैँडाको संख्यात्मक संरक्षणमा नेपाल विश्वमै उदाहरणीय मानिँदै आए पनि पछिल्ला मृत्युका घटनाले दीर्घकालीन सुरक्षा, मानव–वन्यजन्तु द्वन्द्व र पूर्वाधारजन्य जोखिमप्रति थप सतर्कता आवश्यक रहेको संकेत गरेको छ।
— रासस