६ महिनापछि खुल्यो उत्तरी व्यापारको जीवनरेखा

ecopolinews.com

नेपाल–चीन जोड्ने प्रमुख उत्तरी नाका रसुवागढीमा अस्थायी पुल (बेलिब्रिज) निर्माण सम्पन्न भएसँगै आजदेखि नाका औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। गत असारमा चीनतर्फको हिमताल फुटेर आएको भीषण बाढीले मितेरी पुल बगाएपछि ठप्प बनेको दुई देशबीचको व्यापारिक आवागमन छ महिनापछि पुनः जीवित भएको हो।

पुल बगाएपछि सामान बोकेर चीन गएका सयौँ नेपाली मालवाहक गाडी उतै अड्किएका थिए। लामो प्रतीक्षापछि आजदेखि ती गाडीहरू नेपाल फर्किन थालेका छन्, जसले व्यवसायी र ढुवानीकर्तालाई ठूलो राहत दिएको छ।

२०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका लामो समय बन्द रहँदै आएको अवस्थामा रसुवागढी नाका नेपाल–चीन व्यापारको मुख्य ढोका बनेको थियो। व्यापारसँगै पर्यटनका दृष्टिले पनि यो नाका उत्तिकै महत्त्वपूर्ण मानिन्छ।

गत वर्ष आएको बाढीले मितेरी पुलसँगै भन्सार क्षेत्र र निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत क्षति पुर्‍याएको थियो। पुल बग्दा नेपाल–चीन व्यापारिक कनेक्टिभिटी नै विच्छेद भएको थियो, जसको प्रत्यक्ष असर आयात–निर्यातमा परेको थियो।

तर, सोही स्थानमा चिनियाँ पक्षको सहयोगमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि दुई देशबीचको आवागमन पुनः सुचारु भएको छ। रसुवागढी भन्सार कार्यालयका अनुसार बिहीबारदेखि मितेरी पुल पूर्ण रूपमा सञ्चालनमा आएको हो, जसले नेपाल–चीन व्यापार सहजीकरण गर्ने विश्वास लिइएको छ।

यो नाका बन्द हुँदा चिनियाँ विद्युतीय गाडी, स्याउ, लत्ता कपडा लगायतका वस्तुको आयात प्रभावित बनेको थियो। अर्को उत्तरी नाका तातोपानीसमेत बाढी र पहिरोका कारण लामो समयदेखि अवरुद्ध रहँदा व्यापारीहरूले ठूलो सास्ती भोग्नुपरेको थियो।

वैकल्पिक रूपमा उपल्लो मुस्ताङ हुँदै विद्युतीय सवारी आयात गरिँदै आए पनि लागत र दूरीका कारण सहज थिएन। अब भने छोटो, सुरक्षित र व्यवस्थित स्थलमार्ग रसुवागढीबाटै गाडी तथा अन्य वस्तु आयात गर्न सकिने भएको छ।

बाढीले पुल बगाएलगत्तै चिनियाँ पक्षले तत्काल बेलिब्रिज निर्माणको काम थालेको थियो। उक्त कार्य सम्पन्न भएसँगै नेपाल–चीन व्यापार मात्र होइन, दुई देशबीचको आर्थिक सम्बन्धसमेत पुनः मजबुत बनेको छ।

प्रतिक्रिया