गुल्मीको मालिका गाउँपालिका–७ मा भोटे दमाईको ८४ पूजा चलिरहेको थियो। भीडको बीच एकाएक हलचल बढ्यो—डीआईजी दानबहादुर कार्की घरमै आइपुगेका थिए। कुनै निम्तो थिएन, कुनै सूचना थिएन, तर भोटे दमाईसँग उनको मनले वर्षौँ अघिको एउटा धागो तान्यो।
कार्कीको बाल्यकाल स्मरण हुन्छ। कक्षा ९ मा पढ्दै–पढ्दै गाउँ छाडेर शहर छिर्ने जूनून उनले रोक्न सकेनन्। घरले रोकेपछि उनी च्यातिएको झोला बोकेर सिधै भोटे दमाईकहाँ पुगे। “यो झोला टालिदिनुस्,” उनले भनेका थिए। दमाईले टाले, र त्यही झोला बोकेर दानबहादुर पहिलो पटक काठमाडौं छिरे। यही छोटो भेट, यही झोला, उनी आजसम्म पनि आफ्नो यात्राको पहिलो ‘साथी’ ठान्छन्।
त्यो सम्झनाले नै कार्कीलाई बिना निम्तो भोटे दमाईको ८४ पूजासम्म तान्यो। आफूलाई पहिले चिन्न नसकेका भोटे दमाईलाई जब कार्कीले आफ्नो परिचय सुनाए, उनी आनंदले उज्यालिए। कार्कीले सम्मानस्वरूप २० हजार रुपैयाँ दान दिए र पुनः आफ्नो काममा फर्किए।
विद्रोही केटा, शहरको पाठशाला र अनपेक्षित मोड
काठमाडौं आएपछि उनी ललितपुर माविबाट कक्षा ९–१० पास गर्छन्। अंग्रेजी राम्रो भएकाले सबैले परराष्ट्र सेवामा जान सुझाउँथे। उनले परराष्ट्रकै तयारी पनि गरे।
तर नियतिले अर्को ढोका खोल्यो—प्रहरी निरीक्षकको आवेदन खुलेको थियो। “कुनै न कुनै जागिर पक्कै खानुपर्छ” भन्ने सोचेका उनले आवेदन हालिदिए। परराष्ट्र तयारी गरिरहे पनि इन्स्पेक्टरमा नै उनको नाम निस्कियो, अनि जीवनले नयाँ मोड लियो।
१८ चैत २०५४ मा उनले इन्स्पेक्टर पदको जिम्मेवारी पाए।
युद्ध, जोखिम र कठिन फिल्डले बनाएको अनुभव
सिन्धुली, रुकुम, झापा, तनहुँ, आबुखैरेनी—कार्कीका सुरुवाती पोस्टिङहरू चुनौती, जोखिम र दबाबले भरिएका थिए। युद्धकालीन रुकुममा मातहतका सबै प्रहरी सुरक्षित राख्न सफल भएको उनी गर्वका साथ सम्झन्छन्।
नयाँ बानेश्वरमा डीएसपी हुँदा तेल कालोबजारीविरुद्ध कारबाही गरेर उनी चर्को चर्चामा आए। कास्की, सप्तरी, ट्राफिक महाशाखा, अख्तियार, कोटेश्वर लागुऔषध ब्यूरो, विशेष ब्यूरो—तिनतिर उनको काम, अनुशासन र दृढताले पहिचान बनाउँदै लग्यो।
एसएसपी हुँदा काठमाडौं परिसरको नेतृत्व गर्दा बहुचर्चित भुटानी शरणार्थी प्रकरणको अपरेशनसमेत उनले सम्हाले।
डीआईजी भएपछि केन्द्रीय प्रहरी प्रवक्ता, त्यसपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख। एआईजी भएर मानव स्रोत विकास विभागमा उनी पुगे, जहाँबाट उपत्यका प्रहरी कार्यालय हुँदै अहिले नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी) बनेका छन्।
पुरस्कारको कति थुप्रो? अभिलेख नै बोल्छ
संयुक्त राष्ट्रसंघ पदकदेखि प्रबल जनसेवाश्रीसम्म, गण्डकी प्रदेशको नगद पुरस्कारदेखि यूएनको प्रशंसापत्र—उनको सेवासँग १४ ठूला पुरस्कारहरू जोडिएका छन्।
अब करिब साढे दुई वर्ष नेतृत्वमा
मौजूदा नियमअनुसार ३० वर्षे सेवा अवधिका कारण चालू आईजीपी अवकाशमा जाँदा २७ कात्तिकदेखि कार्कीले नेतृत्व सम्हाल्ने तय भयो। उनी १७ चैत २०८४ सम्म नेपाल प्रहरीको सर्वोच्च जिम्मेवारीमा रहनेछन्।
घमिर गाउँमा जन्मेका कार्की मानवीकी, शिक्षा, कानुन र राजनीतिशास्त्रमा स्नातक तथा स्नातकोत्तर डिग्री राख्छन्।
भोटे दमाईले टालेदिएको च्यातिएको झोलाबाट सुरु भएको यात्रा आज देशको सुरक्षातन्त्रको सर्वोच्च कुर्सीसम्म आइपुगेको छ। यात्राको सुरुआत साधारण थियो, तर सङ्गत, संघर्ष, अवसर र अडानले यसलाई असाधारण बनाइदियो।