आईएमएफसँग सहकार्य गरेर आर्थिक सुधारलाई तीव्रता दिने अर्थमन्त्री खनालको प्रतिबद्धता

ecopolinews.com

👉 मुख्य बिन्दुहरू:

आईएमएफको सहयोगमा सुरु भएका सुधार कार्यक्रमलाई तीव्रता दिने सरकारको योजना।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने प्राथमिक जिम्मेवारी।

सुशासन र स्वदेशमै रोजगारी सिर्जनामा प्रतिबद्धता।

ईसीएफ कार्यक्रमको छैटौं समीक्षा प्रतिवेदन चाँडै आईएमएफ बोर्डमा पेश हुने।

काठमाडौं, असोज ६ – अर्थमन्त्री रामेश्वर खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सहितका विकास साझेदार संस्थाको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार आईएमएफका नेपाल मिसन प्रमुख सरवत जहाँसँग भएको भर्चुअल बैठकमा अर्थमन्त्री खनालले हालैको राजनीतिक परिवर्तनपछि बनेको सरकारको पहिलो दायित्व निर्धारित समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारे। साथै उनले जेनजी युवाको नेतृत्वमा भएको आन्दोलनले उठाएको सुशासन र स्वदेशमै रोजगारी सिर्जना गर्ने मागलाई सरकार गम्भीरतापूर्वक सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

बैठकमा आईएमएफ मिसन प्रमुख सरवत जहाँले नेपालको हालको राजनीतिक परिस्थितिले अर्थतन्त्रमा पार्ने सम्भावित प्रभावबारे चासो व्यक्त गर्दै आर्थिक सुधारका कार्यक्रमलाई निरन्तरता दिन नयाँ सरकारसँग सहकार्य गर्न आईएमएफ तत्पर रहेको बताइन्।

अर्थमन्त्री खनालले आईएमएफको सहयोगमा कार्यान्वयनमा रहेको ‘एक्सटेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ)’ को प्रगति समीक्षा भइसकेको र यसको छैटौं समीक्षा प्रतिवेदन छिट्टै आईएमएफ बोर्डमा पेश गरिने जानकारी दिए।

बैठकमा आईएमएफका नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ता समेत उपस्थित रहेका थिए।

प्रतिक्रिया