काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरेसँगै काठमाडौं उपत्यकासहित बागमती, मधेस, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मधेस र बागमती प्रदेशका अधिकांश भागमा तथा कोशी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित अविरल वर्षा भइरहेको छ। विभागले आगामी केही घण्टासम्म विशेषगरी कोशी, मधेस र बागमती प्रदेश बढी प्रभावित हुने चेतावनी दिएको छ।
पछिल्ला तीन घण्टामा मात्र उल्लेख्य वर्षा मापन गरिएको छ। पर्साको वीरगञ्जमा ३४ मिलिमिटर, रौतहटको गौरमा ३०.४ मिलिमिटर, महेशपुरमा ३१.४ मिलिमिटर, सर्लाहीको मनुस्मारामा २४.८ मिलिमिटर, कलैयामा ३१.८ मिलिमिटर, निजगढामा ३१.२ मिलिमिटर र पर्साको रंगपुरमा २६.६ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
विशेषगरी तटीय क्षेत्रमा नदी–नाला र खोलामा पानीको बहाव बढ्ने भएकाले सचेत रहन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।