संखुवासभा कारागारमा कैदी हत्या प्रकरण: ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको ऐतिहासिक फैसला

ecopolinews.com

संखुवासभा जिल्ला कारागारभित्र नियन्त्रणमा रहेका दुई कैदीको कुटपिट गरी हत्या गरिएको बहुचर्चित प्रकरणमा जिल्ला अदालतले कडा फैसला सुनाएको छ। जिल्ला अदालत संखुवासभाले यस अमानवीय घटनामा संलग्न रहेको ठहर गर्दै सात जना प्रहरी र आठ जना कैदीबन्दीसहित जम्मा १५ जनालाई जन्मकैदको फैसला सुनाएको हो। २०८० साल साउन २४ गते कारागारभित्रै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बर्बरतापूर्ण हत्या भएको थियो।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। भाग्ने प्रयास असफल भएपछि सुरुमा प्रहरीले र लगत्तै अन्य कैदीबन्दीले समेत सामूहिक रूपमा निर्घात कुटपिट गर्दा ती दुई युवाको मृत्यु भएको अनुसन्धानबाट प्रमाणित भएको छ। कानुनको रक्षक मानिने सुरक्षाकर्मी र सुधारगृहका रूपमा रहेको कारागारभित्रै यस्तो जघन्य अपराध हुनुले तत्कालीन समयमा सुरक्षा व्यवस्था र मानवअधिकारमाथि गम्भीर प्रश्न उब्जाएको थियो। यसै विषयलाई सम्बोधन गर्दै अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुर ठहर गरी सबै १५ जना प्रतिवादीहरूलाई जन्मकैदको सजाय तोकेको हो।

जन्मकैदको सजाय पाउनेहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, जवानहरू सुमन गुरुङ र पवनकुमार महतो तथा सुरक्षा गार्डहरू दमनसिंह राई र नुसन राई रहेका छन्। यसैगरी, घटनामा संलग्न कारागारका चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेलसहित अन्य ६ जना कैदीहरूलाई पनि जन्मकैदको फैसला सुनाइएको छ। अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार कैद सजायका अतिरिक्त अदालतले सोही संहिताको दफा १८६ बमोजिम प्रत्येक प्रतिवादीबाट जनही ५० हजार रुपैयाँका दरले मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ। कानुन हातमा लिएर अमानवीय कृत्य गर्ने जो कोहीलाई पनि राज्यले उन्मुक्ति दिँदैन भन्ने कडा सन्देश यस फैसलाले प्रवाह गरेको छ।

प्रतिक्रिया