काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग करिब दुई घण्टा लामो वार्ता गरेका छन्। प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू समेत उपस्थित रहेकाले छलफललाई राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।
राष्ट्रपति पौडेलले जेनजी आन्दोलनलाई "देश परिवर्तनको ऐतिहासिक शक्ति" भन्दै प्रशंसा गरे। उनले भने,
"भ्रष्टाचार, नातावाद र कृपावादविरुद्ध उठेको यो आन्दोलनले देशको काँचुली फेर्ने काम गर्न सक्छ। तपाईंहरू यो निर्वाचनलाई महाअभियानका रूपमा सफल बनाउनुस्।"
प्रधानमन्त्री कार्कीले पनि राष्ट्रपतिको स्वास्थ्यलाई समेत बिर्सेर देशको विषम अवस्थालाई सम्हाल्ने साहसको प्रशंसा गर्दै भनिन्,
“राष्ट्रपतिज्यूको सन्देशलाई अन्तःकरणको आवाजका रूपमा लिनुपर्छ।”
जेनजी प्रतिनिधिहरूले भने आन्दोलनलाई मान्यता दिँदै "लिखित सम्झौता" को माग गरेका थिए। उनीहरूले आन्दोलनमा सहभागी युवामाथि तोडफोड, आगजनी र लुटपाटजस्ता अभियोग हटाउन आग्रह गरे।
छलफलमा प्रधानमन्त्री कार्कीले लिखित सम्झौताको प्रारम्भिक ड्राफ्ट तयार गर्ने सहमति जनाएकी छिन्। राष्ट्रपतिले पनि त्यसमा समर्थन जनाउँदै भने,
“प्रधानमन्त्रीले ल्याएको ड्राफ्टमा म सही गर्छु, मेरो भूमिका सहजीकरणको हो।”
बैठकमा सहिद परिवारका भोजबहादुर थापाले घाइते र सहिद परिवारका लागि स्थायी आयोग गठनको प्रस्ताव राखे, जसमा सरकारले सकारात्मक संकेत गरेको सहभागीहरूले बताए।
छलफलमा सहभागी जेनजी प्रतिनिधि खेमराज साउदका अनुसार, “आजको वार्ता पहिलाका सबैभन्दा सार्थक भयो। सरकारले आन्दोलनलाई औपचारिक रूपमा संस्थागत गर्नतर्फ कदम चाल्ने संकेत दिएको छ।”
प्रधानमन्त्री कार्कीले तोकिएको मितिमै निर्वाचन हुनेमा पनि सबैलाई ढुक्क रहन आग्रह गरिन्।राष्ट्रपति र प्रधानमन्त्री दुवैले जेनजी आन्दोलनलाई “देशको सुधार र पुनर्निर्माणको अवसर” का रूपमा चित्रित गरे।
मुख्य बुँदा
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिको दुई घण्टे वार्ता सम्पन्न।
आन्दोलनका मागहरू लिखित रूपमा संस्थागत गर्ने सहमति।सहिद परिवार र घाइतेहरूका लागि आयोग गठनको प्रस्ताव।प्रधानमन्त्री सुशीलाको आश्वासन — “निर्वाचन तोकिएकै मितिमा हुन्छ।”आन्दोलनकारी युवामाथिका अभियोगबारे पुनरावलोकनको तयारी।