गगन थापा,विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुर पाँच वर्षका लागि काँग्रेस बाट निष्कासित

ecopolinews.com

नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने कडा निर्णय गरेको छ। बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतात्रयलाई पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकले विशेष महाधिवेशनको पक्षमा उभिएका अन्य सबै नेता–कार्यकर्तालाई भने “गल्ती सच्याउँदै” पुरानै जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।

केन्द्रीय समितिमा वार्ता प्रयासको ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले पार्टी नेतृत्वलाई धोका दिएको आरोप लगाए। नियमित महाधिवेशनको कार्यतालिकामा सहमति जनाइसकेपछि पनि विशेष महाधिवेशनको अभियानमा लागेर पार्टीलाई विभाजनतर्फ धकेलेको खड्काको आरोप थियो।

संस्थापन पक्षका वार्ता टोली सदस्य रमेश लेखकले बैठकमा जानकारी गराउँदै विशेष पक्षले पठाएका केही प्रस्ताव स्वीकार गर्न सकिने अवस्था रहेको बताएका थिए। सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिबाट अलग हुने, हाइकमाण्ड बनाउने र प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै तोकेर जाने प्रस्तावबाहेक अन्य विषयमा सहमतिको सम्भावना रहेको लेखकको भनाइ थियो।

तर वार्ताको सम्भावनाबारे ब्रिफिङ सकिन नपाउँदै कार्यवाहक सभापति खड्काले एकाएक महामन्त्री थापा, शर्मा र सहमहामन्त्री मन्सुरलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने प्रस्ताव निर्णयार्थ पेस गरे। प्रस्तावलाई केन्द्रीय समिति बैठकले ध्वनिमतबाट पारित गरेको थियो।

यो निर्णयसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष झनै चर्किएको छ भने आगामी राजनीतिक घटनाक्रमले पार्टीको दिशा कता मोडिन्छ भन्ने चासो व्यापक बनेको छ।

प्रतिक्रिया