रविन्द्र कट्टेल
२८ भदौ, काठमाडौं । पाँच दिनदेखि अवरुद्ध सार्वजनिक सवारीसाधन शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । मंगलबारदेखि ठप्प रहेको यातायात शुक्रबार फाट्टफुट्ट मात्र चले पनि शनिबार बिहानैदेखि बाक्लो संख्यामा बस, ट्याक्सी तथा अन्य सवारीसाधन सडकमा देखिन थालेका छन् ।
चितवनतर्फबाट समेत बसहरू काठमाडौं प्रस्थान गरिरहेका छन् ।
जेनजीको सोमबारको आन्दोलनका क्रममा नयाँ बानेश्वर वरपरबाहेक अन्य क्षेत्रमा यातायात चलिरहेको भए पनि मंगलबारदेखि उपत्यकाभरि प्रदर्शन फैलिँदा सम्पूर्ण सवारीसाधन ठप्प भएका थिए । नेपाली सेनाले लगाएको कर्फ्युका कारण सडक सुनसान बनेको थियो ।
तर शनिबार बिहानैदेखि कर्फ्यु हटेपछि काठमाडौंमा जनजीवन सामान्य बन्दै गएको छ । पसलहरू पनि खुल्न थालेका छन् भने आन्दोलनका क्रममा क्षति पुगेका पसलमा सरसफाइ कार्य सुरु भएको छ ।
मंगलबार रातिदेखि सुरक्षा व्यवस्थासहित सडकमा खटिएको सेना शनिबार बिहानबाट फिर्ता भइसकेको छ ।