काठमाडौं, असोज ११ – नेपाली क्रिकेटले शनिबार राति ऐतिहासिक सफलता हासिल गरेको छ। वेस्ट इन्डिजविरुद्ध १४८ रनको मध्यम लक्ष्य बचाउँदै नेपालले १९ रनको स्मरणीय जित दर्ता गरेको हो। यो जितसँगै नेपालले पहिलोपटक आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य) राष्ट्रलाई हराउन सफल भएको छ।
कप्तान रोहित पौडेलको उत्कृष्ट नेतृत्वमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित प्रदर्शन गर्यो। उनले ब्याटिङमा ३८ रन बनाए भने बलिङमा १ विकेट लिएर ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
नेपालको सुरुवात कमजोर भए पनि रोहित र कुशल मल्लको अर्धशतकीय साझेदारीले टोलीलाई २० ओभरमा १४८ रनसम्म पुर्यायो। जबाफी ब्याटिङमा वेस्ट इन्डिजलाई नेपालले सुरुदेखि नै दबाबमा राख्यो। कुशल भुर्तेलको रनआउट, सन्दीप जोराको क्याच, दीपेन्द्र सिंह ऐरीको फिल्डिङ र करण केसीको किफायती बलिङ निर्णायक बने।
अन्तिम दुई ओभरमा वेस्ट इन्डिजलाई ३० रन चाहिँदा करणले मात्र २ रन दिए भने ऐरीले अन्तिम ओभरमा २८ रन बचाउँदै जित पक्का गरे।
यसअघि नेपालले अफगानिस्तान, भारत, बंगलादेश, जिम्बाब्वे र दक्षिण अफ्रिकाजस्ता टोलीसँग खेले पनि जित निकाल्न सकेको थिएन। तर, १०४औं टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले इतिहास रच्यो।
जितपछि कप्तान रोहितले समर्थकप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै समर्थन जारी राख्न आग्रह गरे। यो जित नेपाली क्रिकेटको आत्मविश्वास र क्षमता दुवैको नयाँ उचाइ हो।