ट्रम्पको घोषणा : इजरायल–हमासबीच गाजामा ऐतिहासिक युद्धविराम सम्झौता, बन्धकहरू ७२ घण्टाभित्र रिहा हुने

ecopolinews.com

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच गाजामा शान्ति स्थापनाका लागि ऐतिहासिक युद्धविराम सम्झौता भएको घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले अमेरिकाको पहलमा तयार गरिएको “गाजा शान्ति योजना” अन्तर्गत दुवै पक्षले पहिलो चरणमा हस्ताक्षर गरेको जनाएका छन् ।

उनका अनुसार यो सम्झौताले दीर्घकालीन शान्तिको ढोका खोल्नेछ । ट्रम्पले लेखेका छन्, “यसको अर्थ सबै बन्धकहरू चाँडै रिहा गरिनेछन् र इजरायलले सहमति भएको सीमाभित्र आफ्ना सेना फिर्ता बोलाउनेछ । यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।”

अमेरिकी अधिकारीहरूले जनाएअनुसार इजरायली क्याबिनेटले सम्झौतामा अनुमोदन गरेपछि ७२ घण्टाभित्र सबै बन्धकहरूलाई मुक्त गरिनेछ । अमेरिकी मिडिया एन–१२ न्यूज का अनुसार इजरायली क्याबिनेटबाट स्वीकृति मिल्नेबित्तिकै यो प्रक्रिया सुरु हुनेछ ।


ट्रम्पले यो सम्झौतालाई “अरब र मुस्लिम देशहरू, इजरायल तथा अमेरिकाको लागि ऐतिहासिक र निर्णायक क्षण” भनेका छन् । उनले यस प्रक्रियामा महत्वपूर्ण मध्यस्थता गरेकोमा कतार, इजिप्ट र टर्कीप्रति विशेष धन्यवाद व्यक्त गरेका छन् ।

हमासको नियन्त्रणमा रहेका बन्धकमध्ये एक नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । ट्रम्पले बताएअनुसार सबै बन्धक रिहा भएपछि विपिन जोशी पनि स्वदेश फर्कन सक्ने आशा गरिएको छ । हालसालै सार्वजनिक भएको उनको पुरानो भिडियोले उनी जीवितै रहेको सम्भावना अझै कायम राखेको छ, यद्यपि भिडियो दुई वर्ष पुरानो भएको कारण उनको वर्तमान अवस्था अस्पष्ट छ ।

उता, हमासले पनि युद्धविराम सम्झौताअनुसार रिहा गरिने प्यालेस्टिनी बन्दीहरूको सूची इजरायललाई हस्तान्तरण गरेको जनाएको छ । हमासका वरिष्ठ अधिकारी जाहर जबारिनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, “हमासले सम्झौताको प्रावधानअनुसार सहमति भएका मापदण्डहरू पालना गर्दै प्यालेस्टिनी बन्दीहरूको सूची हस्तान्तरण गरेको पुष्टि गर्दछ।”

यसअघि, हमासका अर्का अधिकारी ताहेर अल–नुनुले बन्धक र बन्दीहरूको सूची आदानप्रदान भइसकेको बताउँदै यो सम्झौता कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको बताएका थिए ।

प्रतिक्रिया