"जेन–जी आन्दोलनपछि निजी क्षेत्रमा आएको चुनौतीलाई अवसरमा बदल्दै स्वदेशी र विदेशी लगानी आकर्षित गर्न सरकार, बैंक र व्यवसायी सबै मिलेर अघि बढ्नुपर्छ" गभर्नर विश्वनाथ पौडेल
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रलाई सबल र दिगो बनाउन कानुनी स्पष्टता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबललाई उच्च बनाउनु अत्यन्त जरुरी रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले मुलुकमा विगत केही समययता देखिएका समस्या र अस्थिरताबीच पनि सकारात्मक रुपमा अघि बढ्ने बाटो खुला भएको उल्लेख गरे। उनले भने, “कानुनको अस्पष्टताका कारण कतिपय क्षेत्रमा समस्या देखिन्छ। कामको निरन्तरता र दीर्घकालीन लगानी सुरक्षाका लागि कानुनी स्पष्टता अत्यावश्यक छ।”
उनले थपे, “स्रोत अभावको बहानाले विकास कार्य रोकिँदैन। तर स्रोत व्यवस्थापनसँगै सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार गर्न सकेमात्र वास्तविक पुनर्निर्माण सम्भव हुन्छ।”
निजी क्षेत्रप्रति सहानुभूति र हौसला
गभर्नर पौडेलले जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुँदा देखिएको नकारात्मक प्रभावलाई गम्भीरतापूर्वक स्वीकार गर्दै व्यवसायीलाई हौसला दिने खालको सन्देश दिएका छन्।
उनले भने, “प्रदर्शनका क्रममा निजी क्षेत्रका कैयौँ भवन तथा व्यवसायमा क्षति पुगेको छ। यसले व्यवसायी समुदायमा असुरक्षाको वातावरण सिर्जना गरेको सत्य हो। तर अहिलेको आवश्यकता भनेको निराश नभई अझ उत्साहपूर्वक अघि बढ्नु हो।”
उनको भनाइमा, अब निजी क्षेत्रलाई सरकारले बलियो सुरक्षा ग्यारेन्टी दिनुपर्नेछ र लगानीकर्ताहरूले आफ्नो मनोबल उच्च राख्नुपर्नेछ। “हाम्रो प्राथमिकता स्वदेशी लगानीमैत्री वातावरण बनाउनुपर्छ। जब स्वदेशी लगानी सुरक्षित र आकर्षक हुन्छ, तब विदेशी लगानी पनि आफैं आउनेछ। अर्थतन्त्रलाई गतिशील बनाउन यही बाटो सबभन्दा छोटो र प्रभावकारी हो।”
लगानीमैत्री वातावरण निर्माण
गभर्नर पौडेलले लगानीमैत्री वातावरण निर्माण गर्न राजनीतिक स्थायित्व, स्पष्ट कानुन, र प्रशासनिक दक्षतामा सुधार अपरिहार्य भएको बताए। उनले पत्रकारलाई समेत सचेत गराउँदै भने, “कानुनको सही व्याख्या नभए गलत सन्देश जान सक्छ। पत्रकारिता नागरिकसँग प्रत्यक्ष संवाद गर्ने माध्यम हो, त्यसैले यसले पनि लगानीमैत्री वातावरण बनाउन भूमिका खेल्न सक्छ।”
उनले निजी क्षेत्रलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउँदै राष्ट्र बैंकको तर्फबाट आवश्यक नीतिगत स्पष्टता र सहजता ल्याउने कार्य अघि बढाइने उल्लेख गरे।
पुनर्निर्माणलाई अवसर बनाउने
पौडेलले आन्दोलनबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई ‘अवसर’ को रूपमा लिन आग्रह गरे। उनका अनुसार, “पुनर्निर्माणका लागि ठूलो स्रोत चाहिन्छ, तर त्यससँगै सुशासन र कार्यक्षमतामा सुधार आयो भने यसलाई आर्थिक पुनरुत्थानको अवसर बनाउन सकिन्छ।”
उनले जोड दिए, “अबको चुनौती भनेको क्षतिको डरमा बस्नु होइन, बरु त्यसलाई अवसर बनाएर दिगो विकासतर्फ अघि बढ्नु हो। यही बाटोले स्वदेशी लगानीकर्ताको विश्वास बढाउनेछ र विदेशी लगानीकर्तालाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिनेछ।”
गभर्नर पौडेलको भनाइ स्पष्ट छ — कानुनी स्पष्टता, सुशासन, र लगानीमैत्री वातावरण बिना अर्थतन्त्र सबल हुँदैन।तर यदि निजी क्षेत्रले मनोबल नघटाई अगाडि बढ्यो र सरकार तथा नियामक निकायले सहयोग पुर्याए भने मुलुकको अर्थतन्त्र छोटो समयमै गतिशील बन्न सक्ने उनको विश्वास छ।