प्रधानमन्त्री सुशीला कार्कीको चासोपछि हायात होटललाई अर्थमन्त्रीको आश्वासन

ecopolinews.com

काठमाडौं । हायात होटलको सेवा अस्थायी रूपमा बन्द र कर्मचारी प्रवेशमा रोक लगाइएको सूचनापछि प्रधानमन्त्री सुशीला कार्कीले तत्काल चासो व्यक्त गरेकी छिन्। सरकारले यस विषयलाई गम्भीर रूपमा लिँदै अर्थमन्त्री रामेश्वर खनाललाई प्रत्यक्ष पहलका लागि निर्देशन दिएको थियो।

शनिबार बिहानै अर्थमन्त्री खनालले हायात रिजेन्सी व्यवस्थापनसँग प्रत्यक्ष कुराकानी गर्दै सुरक्षाको पूर्ण व्यवस्था सरकारको जिम्मेवारी हुने बताएका छन्। उनले भने,

“तपाईंहरू आत्तिनु पर्दैन, उच्च मनोबलका साथ सेवा सञ्चालन गर्नुहोस्। सरकार तपाईंहरूको साथमा छ। सुरक्षाको पूर्ण प्रत्याभूति हामी दिन्छौं।”

खनालले होटल क्षेत्र देशको पर्यटन र लगानी सन्देशसँग जोडिएको भन्दै कुनै पनि हालतमा व्यवसायमा अवरोध नआओस् भन्ने सरकारको स्पष्ट नीति रहेको बताए।

यस विषयमा भोलि (आइतबार) प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयबीच होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक कदम चाल्ने तयारी भएको छ।

सरकारको सक्रियतापछि होटल क्षेत्रका प्रतिनिधिहरूले राहतको अनुभव गर्दै सेवा छिट्टै पुनः सुचारु गर्ने संकेत दिएका छन्।

प्रतिक्रिया