सिन्धुली हिरासत मृत्यु प्रकरण: निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

ecopolinews.com

काठमाडौँ  - सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र २३ वर्षीय युवक श्रीकृष्ण विकको रहस्यमय मृत्यु भएको घटनालाई लिएर काठमाडौँमा उग्र विरोध प्रदर्शन गरिएको छ। सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका विकको गत ७ वैशाखमा हिरासतभित्रै मृत्यु भएपछि घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले शनिबार माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गरेको हो।

प्रदर्शनमा उत्रिएका अधिकारकर्मी, विभिन्न राजनीतिक दलका सांसद र नेताहरूले दलित समुदायमाथि भइरहेको शृङ्खलाबद्ध विभेद, दमन र बहिष्कार तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्। "प्रहरी हिरासतमा मारिएका श्रीकृष्ण विकलाई न्याय दे", "जातीय विभेद अन्त्य गर" जस्ता चर्का नाराबाजी गर्दै प्रदर्शनकारीले प्लेकार्डसहित धर्ना दिएका थिए।

खोटाङकी एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेका श्रीकृष्णलाई केटी पक्षको उजुरीका आधारमा प्रहरीले जबरजस्ती करणीको मुद्दामा पक्राउ गरेको थियो। तर, पीडित परिवार र अधिकारकर्मीहरूले भने उनलाई योजनाबद्ध ढंगले झुटा मुद्दा लगाएर फसाइएको र हिरासतभित्रै हत्या गरिएको दाबी गर्दै आएका छन्। प्रहरीले यसलाई आत्महत्या भन्न खोजे पनि पीडित पक्षले त्यसलाई स्वीकार गर्न नसकिने अडान राखेका छन्।

घटनाको गम्भीरतालाई हेर्दै आन्दोलनकारीले तत्काल न्यायिक छानबिन समिति गठन गर्न र दोषी देखिएका प्रहरी कर्मचारी एवं सम्बन्धित पक्षलाई कानुनी कठघरामा ल्याउन माग गरेका छन्। हिरासतजस्तो सुरक्षित मानिने ठाउँमा दलित युवकको ज्यान जानुले राज्यको सुरक्षा व्यवस्था र जातीय संवेदनशीलतामाथि ठुलो प्रश्न उठाएको प्रदर्शनकारीहरूको तर्क छ।

प्रतिक्रिया