काठमाडौँ, ११ वैशाख
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले राष्ट्रिय स्वाधीनताको रक्षा र जनआन्दोलनको वास्तविक उद्देश्य पूरा गर्नका लागि वर्तमान संसदीय व्यवस्थाको विकल्पमा नयाँ राजनीतिक मोर्चा निर्माण हुनुपर्ने बताउनुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिलेको राजनीतिक प्रणालीले जनताको हित गर्न नसक्ने दाबी गर्नुभयो।
महासचिव बास्तोलाले बालेन्द्र साह नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष निर्देशन र हस्तक्षेपबाट निर्माण भएको गम्भीर आरोप लगाउनुभयो। उहाँले जनताको 'जेन–जी' आन्दोलनलाई वैदेशिक शक्ति र तिनका एजेन्टहरूले अपहरण गरी तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार गठन गराएको टिप्पणी समेत गर्नुभयो।
निर्वाचन र दलाल पूँजीवादमाथि प्रहार गत २१ फागुनमा सम्पन्न निर्वाचनलाई 'दलालहरूको चयन' को संज्ञा दिँदै बास्तोलाले उक्त चुनावबाट जोसुकै विजयी भएर आए पनि त्यो साम्राज्यवादकै गोटी हुने दाबी गर्नुभयो। "अहिलेको सरकार साम्राज्यवादको एजेन्टको रूपमा काम गरिरहेको छ," उहाँले भन्नुभयो, "यो ठाउँमा यदि नेपाली कांग्रेस, एमाले वा माओवादीमध्ये जसले जितेको भए पनि त्यो सरकार साम्राज्यवादकै दलाल हुन्थ्यो। त्यसैले हामीले निर्वाचन बहिष्कार गरेका हौँ।"
महासचिव बास्तोलाले पुराना संसदीय दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सबै विदेशी शक्तिको इसारामा चल्ने 'गोटी' मात्र भएको आरोप लगाउनुभयो। उहाँले राष्ट्रियताको रक्षाका लागि उक्त निर्वाचन खारेज गरी नयाँ ढङ्गले अघि बढ्नुपर्ने आफ्नो पार्टीको अडान रहेको स्मरण गराउनुभयो।
अन्तमा, उहाँले वर्तमान संकटबाट देशलाई मुक्त गर्न क्रान्तिकारी शक्तिहरूबीचको वैकल्पिक मोर्चा नै एकमात्र समाधान भएको उल्लेख गर्दै सबै देशभक्त शक्तिहरूलाई एकजुट हुन आह्वान गर्नुभयो।