नेपाली कांग्रेसको विशेष महाधिवेशन सकिनै लाग्दा पार्टीको औपचारिक नेतृत्व कसको हातमा जाने भन्ने प्रश्न अझै पूर्ण रूपमा टुंगिएको छैन। सभापति शेरबहादुर देउवा पक्ष २१ फागुनको नियमित निर्वाचनसम्म प्रभाव कायम राख्ने रणनीतिमा देखिए पनि राजनीतिक यथार्थ भने फरक दिशामा बगिसकेको छ। अहिलेको कांग्रेसलाई कुन दिशामा हाँक्ने भन्ने प्रश्नमा बहसको केन्द्रमा एउटै नाम उभिएको छ— गगन थापा।
विशेष महाधिवेशनले देखाएको संकेत स्पष्ट छ : दशकौँदेखि जरा गाडेर बसेको पुरानो नेतृत्व संरचनालाई चुनौती दिँदै युवा पुस्ताले पार्टीभित्र निर्णायक दबाब सिर्जना गरेको छ। संख्यात्मक बलभन्दा चेतनाको प्रभाव भारी परेको यो घटनाले कांग्रेसभित्रको शक्ति समीकरणलाई मात्र होइन, समग्र नेपाली राजनीतिलाई नयाँ मोडमा पुर्याएको छ।
समय नबुझ्ने नेतृत्वको संकट
नेपाली राजनीतिका अधिकांश स्थापित दलहरू आज एउटै रोगबाट पीडित देखिन्छन्—समयको आवाज सुन्न नसक्ने नेतृत्व। विचार, सिद्धान्त र मूल्यभन्दा लेनदेन, पहुँच र नियन्त्रणलाई प्राथमिकता दिने प्रवृत्तिले दलहरूलाई नागरिक आकांक्षाबाट टाढा बनाउँदै लगेको छ। आलोचना सहन नसक्ने, फरक मतलाई दण्डित गर्ने र नेतृत्वलाई स्थायी बनाउने संस्कारले राजनीतिक दलहरू थला पर्दै गएका छन्।
यही पृष्ठभूमिमा कांग्रेसभित्र सुरु भएको यो विद्रोह केवल नेतृत्व परिवर्तनको माग होइन, राजनीतिक संस्कार परिवर्तनको संकेत बनेको छ।
गगन थापाका तीन निर्णायक चाल
पहिलो, उनले जेन–जी पुस्ताको असन्तोषलाई अस्वीकार गरेनन्, बरु त्यसलाई परिवर्तनको ऊर्जा माने। विशेष महाधिवेशनमा प्रस्तुत दस्तावेजमार्फत् उनले युवाको आक्रोशलाई ‘विकृति र विसंगतिविरुद्धको चेतावनी’का रूपमा स्वीकार गर्दै त्यसैको आधारमा पार्टी रूपान्तरण गर्ने प्रतिबद्धता जनाए।
दोस्रो, कांग्रेसजस्तो पुरानो र संरचनागत रूपमा जटिल दलमा उनले असन्तुष्ट कार्यकर्तालाई एकताबद्ध बनाए। प्रत्यक्ष टकरावभन्दा शालीन दबाबमार्फत् नेतृत्वको जाम खोल्न सफल हुनु उनको ठूलो राजनीतिक उपलब्धि हो।
तेस्रो, उनले विद्रोहलाई विनाश होइन, पुनर्जागरणको माध्यम बनाए। पार्टी फुटको दिशातर्फ होइन, पुस्तान्तरणको बाटोमा हिँडेको सन्देश दिन उनी सफल देखिए।
अस्तित्वको प्रश्न र कांग्रेसको उत्तर
जेन–जी आन्दोलनपछि पुराना राजनीतिक दलहरू ‘सुध्रिने कि सकिने’ भन्ने निर्णायक मोडमा पुगेका छन्। कतिपय दलहरू महाधिवेशन टारेर वा औपचारिकता पूरा गरेर यथास्थितिलाई निरन्तरता दिने बाटोमा छन्। तर कांग्रेसभित्र देखिएको यो हलचलले कम्तीमा एउटा कुरा सुनिश्चित गरेको छ— पार्टीको आयु एक पुस्ता थपिएको छ।
गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा देखिएको यो प्रयासले कांग्रेसलाई मात्र होइन, अन्य दलहरूलाई पनि आत्मसमीक्षाका लागि बाध्य बनाएको छ।
चुनावी राजनीतिमा बदलिँदो गणित
कांग्रेसमा आएको नयाँ ऊर्जाले आगामी निर्वाचनको शक्ति सन्तुलनमा समेत असर पार्ने संकेत देखिएको छ। हालसम्म जेन–जी आन्दोलनको भरोसा पाएका वैकल्पिक शक्तिहरूको आकर्षणमा केही ह्रास आउन सक्छ। गगन थापाले चुनावी गठबन्धन नगर्ने घोषणा गरेपछि कांग्रेसभित्रै आन्तरिक असहयोग घट्ने सम्भावना बढेको छ।
त्यससँगै, प्रधानमन्त्रीको कार्यकाल सीमा, निर्वाचन प्रणाली सुधार र राज्य संयन्त्रको गैरदलीयकरणजस्ता संरचनागत सुधारका प्रतिबद्धताले कांग्रेसको राजनीतिक एजेन्डालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
अवसरसँगै चुनौती पनि
यद्यपि गगन थापाको यात्रा सहज छैन। प्रगतिशील नेताको छवि र परम्परागत पार्टी संरचनाबीचको अन्तर, केही राष्ट्रिय मुद्दामा देखिएको मौनता र सत्तामा पुगेपछि उत्पन्न हुने व्यावहारिक चुनौती उनका लागि परीक्षा बन्न सक्छन्। लोकप्रियता क्षणिक हुने आजको राजनीतिमा निरन्तर परिश्रम र स्पष्ट दृष्टि अपरिहार्य हुनेछ।
कांग्रेसको नेतृत्व औपचारिक रूपमा हस्तान्तरण भइनसके पनि राजनीतिक नेतृत्वको केन्द्र सरेको संकेत स्पष्ट देखिन्छ। गगन थापाले आफूलाई पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमै प्रभावशाली धुरीका रूपमा स्थापित गरिसकेका छन्। अब प्रश्न एउटा मात्र छ— यो पुस्तान्तरणले कांग्रेसलाई मात्र होइन, नेपाली राजनीतिलाई कति टाढासम्म रूपान्तरण गर्न सक्छ?