सीता जयन्तीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिन प्रभु साहको माग

ecopolinews.com

काठमाडौँ आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय विभूति माता सीताको जन्मोत्सव (जानकी जयन्ती) लाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वका रूपमा मनाउन सरकारसँग जोडदार माग गरेका छन्।

शनिबार कोटेश्वरमा आम महिला मोर्चा काठमाडौँ उपत्यका विशेष कमिटीद्वारा आयोजित 'जानकी जयन्ती समारोह'लाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपालको पहिचान र गौरवसँग जोडिएकी सीता माताको योगदानलाई राज्यले उपेक्षा गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराए। उनले हामीले राम नवमी र कृष्ण अष्टमी जस्ता पर्वहरू मनाउने गरे पनि हाम्रै देशको गौरव सीता माताको जन्मोत्सवलाई बिर्सनु दुःखद भएको बताए। सीता जयन्तीलाई राष्ट्रिय गौरवका रूपमा भव्य तरिकाले मनाउनुपर्नेमा उनको विशेष जोड थियो।

अध्यक्ष साहले प्रेम, त्याग, समर्पण र संघर्षकी अद्वितीय प्रतिमूर्ति माता सीताको जीवन केवल धार्मिक आस्थाको विषय मात्र नभई सामाजिक रूपान्तरणको प्रेरणादायी स्रोत भएको उल्लेख गरे। सीता माताले देखाउनुभएको सहनशीलता, निष्ठा र आत्मसम्मानले आजको आधुनिक समाजलाई लैङ्गिक समानता, सामाजिक न्याय तथा सभ्य संस्कृतिको निर्माणतर्फ अग्रसर हुन सही मार्ग निर्देशन गरेको उनको भनाइ छ।

स्मरण रहोस्, केपी ओली नेतृत्वको सरकारमा मन्त्री हुँदा साहले सीता जयन्तीलाई क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित मनाउने प्रस्ताव राखेका थिए, जसलाई तत्कालीन सरकारले अस्वीकार गरेको थियो। उनले सो विषय अस्वीकार गर्नेहरूको अब अन्त्य भइसकेको भन्दै अहिलेको सन्दर्भमा सीता जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउन सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

महिला मोर्चाकी उपाध्यक्ष एवं काठमाडौँ उपत्यका विशेष कमिटीकी इन्चार्ज रञ्जुकुमारी साहको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा आजपा प्रवक्ता सुभाष साह, विजय यादव, उपेन्द्र साह, सरिता साह, सीमा जयसवाल लगायतका केन्द्रीय तथा स्थानीय नेताहरूको विशेष सहभागिता रहेको थियो। कार्यक्रमका वक्ताहरूले जानकी जयन्तीलाई मधेसको मात्र नभई समग्र नेपालको साझा गौरवका रूपमा स्थापित गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया