काठमाडौँको सिंहदरबारबाट झापाको रणभूमि ?

ecopolinews.com

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी थालेका छन् । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘किल्ला’ मानिने यही निर्वाचन क्षेत्रबाट बालेनले चुनावी प्रतिस्पर्धा गर्ने तयारी थालेको खुलासा भएको हो ।

बालेनको सचिवालयका अनुसार उनी झापा–५ केन्द्रित राजनीतिक गृहकार्यमा सक्रिय छन् । ओली लगातार निर्वाचित हुँदै आएको क्षेत्रमा नै चुनाव लड्ने उद्देश्यले बालेनले स्थानीय नेता–कार्यकर्तासँग निरन्तर छलफल गरिरहेका छन् ।

आइतबार पनि बालेनले रास्वपा झापाका सभापति प्रकाश पाठकलगायत नेताहरूसँग भेटवार्ता गरेका छन् । ललितपुरको ज्वागलस्थित उनका सल्लाहकार कुमार ब्यञ्जनकारको निवासमा भएको छलफलमा रास्वपाका अध्यक्ष पाठक, सचिव शम्भु सुस्केरालगायतको सहभागिता थियो ।

बालेनका एक सल्लाहकारका अनुसार यो भेट केवल औपचारिक होइन, गहिरो राजनीतिक संकेत बोकेको थियो।

“मेयरज्यू झापा–५ बाट केपी ओलीसँगै चुनाव लड्ने तयारीमा हुनुहुन्छ । हाम्रो टिमले त्यहाँको मत सर्वेक्षणसमेत गरिरहेको छ,” ती सल्लाहकारले बताए ।

बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार उनी ५ गते मेयर पदबाट राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि सिधै झापा जाने तयारीमा छन् ।

“५ गते राजीनामा दिनुहुन्छ, त्यसपछि झापा जानुहुन्छ,” शाहले बाह्रखरीसँग भने ।

सबै संकेतले के देखाउँछन् भने—बालेन शाहको राजनीतिक यात्रा अब काठमाडौँको सीमाभन्दा बाहिर, केपी ओलीकै निर्वाचन क्षेत्रमा निर्णायक मोड लिन खोज्दैछ ।

प्रतिक्रिया