नेपालको नयाँ भन्सार नियम र सीमाको तनावप्रति भारतको चासो

ecopolinews.com

काठमाडौँ

नेपाल–भारत सीमा क्षेत्रमा नेपाली अधिकारीहरूले सुरु गरेको कडा भन्सार जाँच र नयाँ नियमका कारण सिर्जित तनावप्रति भारतीय विदेश मन्त्रालयले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ लागू भएपछि उत्पन्न परिस्थितिलाई भारतले नजिकबाट नियालिरहेको बताएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालले अनौपचारिक व्यापार र तस्करी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको बुझिएको टिप्पणी गर्नुभयो। भारतीय सामान बोकेर सीमा पार गर्ने यात्रुहरूमाथि भन्सार लगाइएको रिपोर्टबारे भारत जानकार रहेको उल्लेख गर्दै उहाँले घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई नरोकिएको भन्ने नेपाली अधिकारीहरूको दाबीलाई पनि आफूहरूले ध्यान दिएको स्पष्ट पार्नुभयो।

नेपाल सरकारको यो नयाँ व्यवस्थाले विशेष गरी तराई क्षेत्रका सीमावर्ती बासिन्दाको दैनिक जनजीवन प्रभावित पारेको छ। दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर रहने नागरिकहरूले यसको कडा विरोध गर्दै आएका छन् भने सीमा क्षेत्रका जनप्रतिनिधिहरूले समेत सर्वसाधारणको मर्कालाई बुझेर यो प्रतिबन्ध खुकुलो बनाउन सरकारसँग माग गरिरहेका छन्। भन्सारको यो कडाइले एकातिर राज्यको राजस्व र स्थानीय व्यापारमा सुधार ल्याउने अपेक्षा गरिए पनि अर्कातिर सीमावर्ती जनसम्बन्ध र जीविकोपार्जनमा समस्या देखिएको भन्दै बहस सुरु भएको छ।


प्रतिक्रिया