काठमाडौं । नेपालकै प्रमुख सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकबाट अभूतपूर्व लुटपाट भएको खुलासा भएको छ। जेन-जी आन्दोलनको उत्कर्षका क्रममा संसद् भवनभित्र रहेको नयाँ बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन हराएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सार्वजनिक गरेका छन्।
गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै भने, “एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद् भवनमै रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ।” उनका अनुसार सो लुटपाटबाट करिब ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति हराएको छ।
यो घटनाले मुलुककै बैंकिङ इतिहासमा ठूलो धक्का पुर्याएको छ। राष्ट्र बैंकले बैंकको सिसिटिभी फुटेजको आधारमा विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
पौडेलका अनुसार आन्दोलनका क्रममा ६८ वटा बैंक शाखा आक्रमणमा परे भने ६९ वटा एटिएममा असर पुगेको छ। तर सम्पूर्ण बैंकिङ प्रणाली, विशेष गरी पेमेन्ट सिस्टम भने बचाउन राष्ट्र बैंकले विशेष चासो दिएको उनले बताएका छन्।
यो अभूतपूर्व लुटपाटले मुलुकभरै चर्को बहस सुरु गरेको छ। संसद् भवनभित्रै रहेको सरकारी बैंकबाट यति ठूलो परिमाणमा नगद र सुन गायब हुनु मुलुककै वित्तीय सुरक्षामाथि गम्भीर प्रश्न बनेको छ।