काठमाडौं । राष्ट्रिय महिला आयोगमा हालै देखिएको अनियमितता, पद दुरुपयोग र भ्रस्टाचारका घटनाहरूले आयोगभित्र नै ठूलो विवाद सिर्जना गरेको छ। आयोगभित्रको नेतृत्वमा देखिएको आपसी असन्तुष्टि र पारदर्शिताको अभावका कारण केही प्रमुख सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्।
मिति २०८२/०६/२६ गते आयोगमा बसेको बैठकमा सदस्यहरूले अध्यक्षको काम गर्ने शैली, नियोजन र निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै राजीनामा दिएका हुन्। राजीनामा दिनेहरूका अनुसार, आयोगका अध्यक्षले शक्तिशाली व्यक्तिहरूको प्रभावमा रही मनपरी नियुक्ति र निर्णय गर्दै आएको, साथै सचिव र कर्मचारीहरूलाई समेत नियमनबिना नियुक्ति गरी पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।
उनीहरूले भनिएका छन्, “राष्ट्रिय महिला आयोगको अध्यक्ष जस्तो गरिमामय पदमा बसेर व्यक्तिगत स्वार्थमा आधारित नियुक्ति र आर्थिक लेनदेन गरिएको छ, जसले आयोगको विश्वसनीयता गम्भीर रूपमा ह्रास पारेको छ।” साथै, सरकारी रकम दुरुपयोग गरी भवन निर्माण, सेवा केन्द्र स्थापना, र मनोनयन प्रक्रियामा समेत भ्रष्टाचार भएको प्रमाण सार्वजनिक गर्दै तत्काल छानबिनको माग गरिएको छ।
आन्दोलनरत जेनजी अभियानका प्रतिनिधिहरू, सहीद तथा घाइते परिवारका प्रतिनिधिहरू, र UEN Revolution Nepal लगायतका संस्थाहरूले हस्ताक्षरित सामूहिक राजीनामा पत्रमा भनिएको छ— “अध्यक्षको आचरणले आयोगको मूल उद्देश्य विपरीत कार्य भएको हुँदा हामी आयोगका गतिविधि र निर्णयप्रति अब बाँधिएका छैनौं।”
राजीनामा पत्रमा डा. जगत बिक्रम, सरुप सिरसेल, प्रदिप गहतराज, काजल ठकुरी, रक्षा लम्साल, किल्ता थापामगर लगायतका हस्ताक्षर छन्।
राजीनामा पत्र राष्ट्रिय महिला आयोग, भक्तपुर तौलाचालमा बुझाइएको छ, जसमा अध्यक्षविरुद्ध सरकारी भवन निर्माणमा १० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप समेत लगाइएको छ।
पत्रमा उल्लेख छ, “चार करोड, दुई करोड, र एक करोडका किस्तामा आएको रकम पारदर्शिता बिना खर्च गरिएको छ। १५०० वर्ग फिटको सेवा केन्द्र, स्मृति उद्यान, बालगृह, सडक, र महिला सशक्तीकरण भवनको निर्माणमा समेत अनियमितता भएको छ।”
सदस्यहरूले चेतावनी दिएका छन् कि यदि तत्काल निष्पक्ष छानबिन गरी जिम्मेवार अधिकारीमाथि कारबाही नभए, आन्दोलनलाई थप सशक्त रूपमा अघि बढाइनेछ।
यो घटनाले राष्ट्रिय महिला आयोगको विश्वसनीयता र नैतिक जिम्मेवारीप्रति गम्भीरप्रश्न उठाएको छ।