कृष्णभीरमा सडक आंशिक सञ्चालनमा, बिहीबारदेखि दुईतर्फी यातायात खुलाउने तयारी

ecopolinews.com

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीका कारण लामो समयदेखि अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ। दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने तथा सवारीसाधन आवतजावतका लागि आवश्यक प्लेटफर्म तयार गरेपछि आइतबारदेखि सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको हो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि लामो समयदेखि रोकिएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई प्राथमिकताका आधारमा आवतजावत गर्न दिइएको छ। यसबाट अत्यावश्यक सामग्री ढुवानीमा केही सहजता हुने अपेक्षा गरिएको छ।

सडकको भित्तातर्फ नाली निर्माणको काम अझै बाँकी रहेकाले उक्त काम बिहीबारसम्म सम्पन्न गर्ने तयारी गरिएको छ। नाली निर्माण पूरा भएपछि सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य रहेको महानिर्देशक जैसीले बताएका छन्।

यसअघि सडकको भारवहन क्षमता र सवारीसाधन आवागमनको अवस्था परीक्षण गर्न खाली ग्यास बुलेट सञ्चालन गरी परीक्षण गरिएको थियो।

गत भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडक बन्द भएपछि काठमाडौँ आवतजावत गर्ने ठूला तथा साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका थिए।

सडक आंशिक रूपमा सञ्चालनमा आएसँगै लामो समयदेखि रोकिएका अत्यावश्यक तथा ठूला सवारीसाधनलाई राहत पुगेको छ। बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालनमा आएपछि राजमार्गको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।pc: farakpatra

प्रतिक्रिया