एमालेनिकट युवा संघको सरकारलाई कडा चेतावनीः आइतबारसम्म अनुमति नदिए सडकमा उत्रिन्छौं

ecopolinews.com

काठमाडौँ, असोज २४ । नेकपा (एमाले) निकट संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारले २४ घण्टाभित्र मोटरसाइकल र्‍याली गर्न अनुमति नदिए सडकमा उत्रिने चेतावनी दिएको छ।

संघका अध्यक्ष क्षितिज थेबेले शुक्रबार एक वक्तव्य जारी गर्दै आइतबारसम्म अनुमति नआएमा सरकारविरुद्ध संघर्षमा उत्रिन बाध्य हुने स्पष्ट पारे।

अध्यक्ष थेबेले भने, “आइतबारसम्म हामीलाई शान्तिपूर्ण बाइक र्‍याली गर्न दिइएन भने, सरकारले हाम्रो विधिको शासनप्रतिको विश्वासलाई कमजोरी ठान्ने हो भने, हामी सडकमा ओर्लन बाध्य हुनेछौं र यो सरकारले हामीलाई रोक्न सक्दैन।”

उनका अनुसार शनिबार आयोजना गर्न लागिएको बाइक र्‍याली रोक्न सरकारको कदम नागरिकको मौलिक हकमाथिको आक्रमण हो। उनले भने, “शान्तिपूर्ण प्रदर्शन लोकतान्त्रिक अधिकार हो। यो अधिकारमै बन्देज लगाएर सरकारले लोकतन्त्रको धज्जी उडाएको छ।”

थेबेले वर्तमान सरकार अधिनायकवाद र निरङ्कुशताको बाटोमा अगाडि बढिरहेको टिप्पणी गर्दै तत्काल सच्चिन सुझाव दिए।

संघले कानून, सुशासन र विधिको शासनमा विश्वास गर्ने भन्दै सरकारको निर्णयलाई तत्काल फिर्ता लिन आग्रह गरेको छ। थेबेले थपे, “हामीले सरकारको आदेशको पालना गरेर जिम्मेवार आचरण देखाएका हौं, तर हाम्रो सहनशीलतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिन चाहन्छौं।”

यसअघि सरकारले सुरक्षा संवेदनशीलता भन्दै एमालेनिकट युवा संघलाई राजधानीमा प्रस्तावित बाइक र्‍याली आयोजनाको अनुमति नदिएको थियो।

प्रतिक्रिया