सञ्जिव चिलुवाल - काठमाण्डौ, चैत्र ११ - राजधानीको काठमाडौं टोखा क्षेत्रमा रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यसहित युवाहरूको अग्रसरतामा खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। सृजनात्मक युवा समूह नेपाल ले टोखा नगरपालिका वडा नं. ११ को सहकार्यमा सञ्चालन गर्न लागेको यो कार्यक्रम मानवीय सेवाको सशक्त अभियानका रूपमा हेरिएको छ।
कार्यक्रम आगामी चैत्र १४ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म City Square Mall मा सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रममा स्वेच्छिक रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
रक्तसङ्कलन कार्यमा नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोग रहनेछ। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै सुरक्षित र व्यवस्थित ढङ्गले रक्तदान कार्यक्रम सम्पन्न गरिने तयारी गरिएको आयोजकले जनाएको छ।
संस्थाका अध्यक्ष विशाल सेढाई ले रक्तदानलाई मानव जीवनसँग प्रत्यक्ष जोडिएको सामाजिक दायित्वको रूपमा व्याख्या गर्दै भने,
“रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा हो। हाम्रो सानो योगदानले कसैको जीवन बचाउन सक्छ। त्यसैले सबै सक्षम नागरिकलाई यो पुण्य कार्यमा सहभागी भई जीवन बचाउने अभियानमा साथ दिन हार्दिक अपिल गर्दछु।”
उनले युवाहरूको सक्रियताले समाजमा सकारात्मक ऊर्जा र परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने बताए।
स्थानीय तह र सामाजिक संस्थाबीचको सहकार्यमा सञ्चालन हुन लागेको यस अभियानले समुदायस्तरमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ। आयोजकले सबै नागरिकलाई कार्यक्रममा सहभागी भई रगतदानमार्फत जीवन बचाउने महान अभियानमा जोडिन आग्रह गरेको छ।