नेपाल–भारत ऊर्जा सहकार्यमा नयाँ गति : मन्त्री घिसिङ र राजदूत श्रीवास्तवबीच उच्चस्तरीय छलफल

ecopolinews.com

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार सिंहदरबारमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ।

भारतीय राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा नेपाल–भारतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा सहकार्यलाई अझ मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

दुवै पक्षबीच भएको वार्तामा महाकाली सिँचाइ (तेस्रो चरण)को नहरमार्फत नेपालतर्फ पानी आपूर्ति, राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण, साथै नेपालबाट भारततर्फ थप विद्युत् निर्यात गर्ने सम्भावना लगायतका मुद्दा प्रमुखतापूर्वक उठाइएको थियो।

मन्त्री घिसिङले दशैं–तिहार अवधिमा आन्तरिक खपत घट्ने भएकाले भारततर्फ थप विद्युत् निर्यातको अनुमति दिन आग्रह गरेका थिए। हालसम्म नेपालले भारत र बंगलादेशसहित ११६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त गरेको छ भने थप १३८ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव भारत सरकारसँग पेश भइसकेको छ।

भेटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणमा भारत आवश्यक सहयोग गर्न तयार रहेको राजदूत श्रीवास्तवले स्पष्ट पारे।

नेपाल–भारतबीच ऊर्जा सहकार्यका संयन्त्र बैठक चाँडै आयोजना गर्ने सहमति पनि बैठकमा भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिवहरू चिरञ्जीवी चटौत र सन्दीप कुमार देव, साथै परराष्ट्र मन्त्रालयका शाखा अधिकृत प्रतिक कार्की उपस्थित रहेका थिए।

प्रतिक्रिया