राजधानीका सुरक्षा कमान्डमा नयाँ अनुहार: को हुन् यी तीन सारथी, जसले चिरे सत्ता र शक्तिको परम्परागत भाष्य ?

ecopolinews.com

रविन्द्र कट्टेल - गृह मन्त्रालयले जेठ १८ गते ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेसँगै संघीय राजधानी काठमाडौं उपत्यकाको सुरक्षा संयन्त्रले नयाँ कमान्डरहरू पाएको छ। काठमाडौं जिल्ला, ललितपुर जिल्ला र उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व फेरिएसँगै यी सरुवाहरूले आम वृत्त र प्रहरी संगठनभित्र ठूलो तरंग पैदा गरेका छन्।

विगतका वर्षहरूमा नेपाली कांग्रेस, एमाले र माओवादीजस्ता परम्परागत शक्तिहरूले सरकार चलाउँदा प्रहरीको महत्त्वपूर्ण सरुवा र बढुवामा कसको पल्ला भारी हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो। तर, यसपटक राजनीतिको मूलधारमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ताको नेतृत्वदायी भूमिकामा रहेको र प्रधानमन्त्रीका रूपमा वालेन्द्र शाहको उपस्थिति रहेको सन्दर्भमा यी सरुवाहरूलाई निकै चासोका साथ हेरिएको छ। विशेषगरी, एक वर्षको कार्यकाल पूरा नहुँदै अघिल्ला कमान्डरहरूलाई हटाएर ल्याइएका नयाँ अनुहारहरूको चयनका पछाडि के कस्ता कारणहरू लुकेका छन् भन्ने विषयले अहिले बजार तताएको छ।

काठमाडौं प्रहरीमा दिलिप घिमिरेको सानदार 'इन्ट्री' र मिथ्या चर्चाको पर्दाफास

नेपाल प्रहरीको सर्वाधिक आकर्षक र उच्च महत्त्व बोकेको काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व सम्हाल्न आइपुगेका छन्, एसएसपी दिलिप घिमिरे। प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागको वृत्ति विकास महाशाखाबाट सरुवा भएर भद्रकाली आइपुगेका घिमिरेको यो 'इन्ट्री' सामान्य सरुवा मात्र थिएन। विगतमा उच्च राजनीतिक शक्तिकेन्द्रको 'आशीर्वाद' र चरम आर्थिक चलखेलका आधारमा मात्र पुग्न सकिने भनिएको यो ठाउँमा घिमिरेले कसरी बाजी मारे भन्ने प्रश्नले धेरैको ध्यान तानेको छ।

गत वर्ष भदौमा जेन–जी आन्दोलनपछि काठमाडौंमा रमेश थापा र ललितपुरमा होबिन्द्र बोगटीलाई कमान्ड दिइएको थियो। तर, कार्यालय प्रमुखले सामान्यतया एक वर्ष काम गर्न पाउने स्थापित विधिलाई मिच्दै आठ महिनामै उनीहरूको सरुवा गरिएपछि संगठनभित्रै नयाँ कमान्डरको चयन प्रक्रियामाथि प्रश्न उठेका थिए। कुनै पनि विवाद वा आचरण विपरीतको काममा नमुछिएका थापा र बोगटीलाई हटाएर घिमिरेलाई ल्याइँदा एउटा ठूलो हल्ला चलाइयो— 'घिमिरेको सरुवामा उनकी पत्नी हाबी भइन्।'

घिमिरेकी पत्नी एसपी वसुन्धरा खड्का हाल जिल्ला प्रहरी कार्यालय, झापाकी प्रमुख हुन्। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री वालेन्द्र शाहलाई क्षेत्र नम्बर ५ बाट चुनाव जिताउन महत्त्वपूर्ण भूमिका खेलेबापत खड्काले आफ्ना पतिलाई काठमाडौंको कमान्ड दिलाएको भन्दै मिडियामा व्यापक चर्चा भयो। तर, यो चर्चा पूर्णतया कपोलकल्पित र आधारहीन भएको प्रधानमन्त्रीको सचिवालय र प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीको सचिवालयले स्पष्ट पारेका छन्। "प्रहरीले न कसैलाई चुनाव जिताउन वा हराउन सक्छ, न त त्यही आधारमा सरुवा–बढुवा हुन्छ," सचिवालयका एक सदस्यले भनेका छन्।

यथार्थमा, घिमिरे र खड्का दुवै संगठनका अब्बल अधिकृत हुन्। २०६१ सालमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेकी वसुन्धरा खड्काले २०६४ सालमै काठमाडौंको सर्वाधिक चुनौतीपूर्ण मानिने लैनचौर प्रभागको कमान्ड सफलतापूर्वक सम्हालेकी थिइन्। इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरमा 'प्रि–थ्री' तहमा प्रतिस्पर्धाबाटै नाम निकालेकी उनी आफ्नो ब्याचकी सर्वोत्कृष्ट अधिकृतमध्ये पर्छिन्। उता, २०५८ सालमा सेवा प्रवेश गरेका दिलिप घिमिरेले पनि पर्वत, ललितपुर, बुटवल, रौतहट र इलामजस्ता स्थानमा विवादरहित र सफल नेतृत्व गरिसकेका छन्। आईजी कार्कीले कार्यसम्पादन र कार्यक्षमताकै आधारमा घिमिरेलाई काठमाडौंको नेतृत्व सुम्पेको तथ्यले राजनीतिक पहुँचको हल्लालाई सीधै खारेज गरिदिएको छ। पति र पत्नी दुवै फरक–फरक जिल्लाको प्रमुख हुन नपाउने भन्ने कुनै कानुनी बन्देज नेपाल प्रहरीमा छैन।

वर्षौँको अन्याय चिर्दै ललितपुरको कमान्डमा तुलबहादुर कार्की

२०५६ सालमा प्रहरी इन्स्पेक्टरबाट सेवा सुरु गरेका तुलबहादुर कार्कीको प्रहरी जीवन 'अन्यायमाथिको अन्याय' सहेर अघि बढेको कथा हो। आफ्ना समकक्षी ब्याचमेटहरू बढुवा हुँदै गर्दा उनी सधैँ छुट्ने नियति भोग्दै आएका अधिकृत हुन्। स्याङ्जा, कार्कीनेटाका स्थायी बासिन्दा उनलाई बेलाबेलामा 'कम्युनिस्ट' को बिल्ला भिराएर पछाडि धकेल्ने काम भयो। विडम्बना त के भने, एमालेकै सरकार हुँदा पनि उनी बढुवा र पोष्टिङमा सधैँ अन्यायमा परिरहे।

तर, काममा कुनै पनि 'कैफियत' नभएका र इमानदार छविका धनी कार्कीले हार मानेनन्। इन्स्पेक्टर हुँदा काठमाडौंको जनसेवा र पोखराको बैदाम, डीएसपी हुँदा कीर्तिपुर वृत्त, र एसपी हुँदा नुवाकोट तथा बाँकेजस्ता संवेदनशील जिल्लाको सफल नेतृत्व गरिसकेका उनी अहिले गण्डकी प्रदेश प्रहरी कार्यालयबाट ललितपुर प्रहरीको कमान्ड सम्हाल्न आइपुगेका छन्। व्यावसायिक इमानदारी र निरन्तरको धैर्यताको फलस्वरूप उनले पाएको यो जिम्मेवारीलाई प्रहरी संगठनभित्र वर्षौँदेखिको अन्यायको भारी बिसाउने एउटा सुखद अवसरका रूपमा हेरिएको छ।

'ग' बाट 'क' श्रेणीको छलाङ मार्दै ट्राफिकमा शान्तिराज कोइराला

उपत्यका ट्राफिक प्रहरी कार्यालयको नयाँ प्रमुखका रूपमा एसएसपी शान्तिराज कोइरालाको प्रवेशले पनि अर्को चर्चा जन्माएको थियो। हाल मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत कोइरालालाई 'इन्चार्जबाट इन्चार्जमै' सरुवा गरिएको भन्दै नीतिगत प्रश्न उठाइएको थियो। तर, वास्तविकता भने फरक छ।

प्रहरी नीतिअनुसार एउटै श्रेणीको युनिटमा इन्चार्जबाट इन्चार्ज सरुवा गरिँदैन। तर, कोइराला कार्यरत मधेस प्रदेश प्रहरी कार्यालय 'ग' श्रेणीको कार्यालय हो भने उनी अहिले सरुवा भएर आउन लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालय 'क' श्रेणीको अति महत्त्वपूर्ण युनिट हो। तसर्थ, यो नीतिविपरीतको सरुवा नभई कार्यक्षमताको आधारमा गरिएको स्वाभाविक र न्यायोचित बढोत्तरी हो। ओखलढुङ्गाका स्थायी बासिन्दा कोइराला २०५५ सालमा सेवा प्रवेश गरी २०५८ मा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर बनेका हुन्। बौद्ध, ठिमी, मोरङ, नुवाकोट र चितवनको राजमार्ग सुरक्षा ट्राफिक जस्ता महत्त्वपूर्ण युनिटहरूमा उत्कृष्ट कमान्ड गरिसकेका कोइरालाको अनुभवले उपत्यकाको अस्तव्यस्त ट्राफिक व्यवस्थापनमा नयाँ सुधार ल्याउने अपेक्षा गरिएको छ।

समग्रमा, काठमाडौं उपत्यकाका यी तीन महत्त्वपूर्ण सुरक्षा कमान्डमा भएका नियुक्तिहरूले बाहिर चलेका राजनीतिक र व्यक्तिगत पहुँचका हल्लाहरूलाई चिर्दै प्रहरी संगठनभित्र व्यावसायिकता, कार्यक्षमता र इमानदारीले नै अन्ततः ठाउँ पाउँछ भन्ने बलियो सन्देश दिएका छन्। Pc: NepalPress

प्रतिक्रिया