देशसेवाको शपथसहित ‘जेनजी’ कविर सोब नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष

ecopolinews.com

काठमाडौं । २७ वर्षीय ‘जेनजी’ कविर सोब नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष बनेका छन्। सोबको नेतृत्वमा ४५ संस्थापक सदस्यसहित बिहीबार (कात्तिक १३) निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइएको हो।

यो पार्टीको संरक्षकमा मुक्तकन्दरा नायक रेशमलाल चौधरी रहेका छन्। उनले गत भदौ २९ गते यो पार्टीको औपचारिक घोषणा गरेका थिए।

पूर्व जनमत पार्टीका वरिष्ठ नेता अब्दुल खान, जसले पार्टीभित्र परिवारवाद हाबी भएको आरोप लगाउँदै असोज २ गते राजीनामा दिएका थिए, अहिले नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक वरिष्ठ उपाध्यक्ष बनेका छन्।

पार्टीका संस्थापक सदस्य रामचन्द्र श्रेष्ठले पार्टी गठनको मूल भावना “देशभक्ति, स्वाभिमान र नागरिक स्वतन्त्रता”मा आधारित रहेको बताए। उनका शब्दमा—

 “यो पार्टी कुनै व्यक्तिको होइन, यो देशका सपूतहरूको आवाज हो। हामी नेपाली माटो र जनताको मुक्तिका लागि एकजुट भएका हौं।”

“नागरिक उन्मुक्ति पार्टी नेपालको धड्कन हो — जसले न्याय, समानता र स्वाभिमानका लागि बलिदान दिन पनि पछाडि हट्दैन।”

अध्यक्ष सोबले पनि पार्टी दर्ता पश्चात् संक्षिप्त भनाइ दिंदै भने,

 “हामी युवापुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव सँगालेर नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्दैछौं।”

यो पार्टी नयाँ पुस्ताको नेतृत्वमा देशभक्ति, पारदर्शिता र जनअधिकारको नारा बोकेर अघि बढ्ने प्रतिबद्धतामा रहेको बताइएको छ।

प्रतिक्रिया