तुलसीपुरमा एमाले झन्डा जलाउने प्रकरण: थप दुई पक्राउ, तनाव चर्कियो

ecopolinews.com

दाङको तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झन्डा जलाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ वर्षीय विक्रम परियार र तुलसीपुर–४ का रमेश राना मगरलाई राति नियन्त्रणमा लिएको जनाएको छ। यसअघि यही घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार झन्डा जलाउने घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र खोजी कार्य तीव्र पारिएको छ। घटनालाई लिएर जिल्लामा राजनीतिक तापक्रम बढ्दो अवस्थामा रहेको छ।

बिहीबार राति करिब साढे ९ बजे तुलसीपुरको वीरेन्द्र चोकमा रवि लामिछाने को स्वागत कार्यक्रममा उपस्थित भीडका केही व्यक्तिले एमालेको झन्डा जलाएका थिए। सो घटनाको भिडियो सार्वजनिक भएसँगै चौतर्फी विरोध सुरु भएको थियो। त्यसपछि प्रहरीले संलग्नको खोजी अभियान अघि बढाएको हो।

घटनापछि एमाले कार्यकर्ताले तुलसीपुर, घोराही र लमहीमा विरोध र्‍याली निकालेका थिए। र्‍यालीका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी को तुलसीपुरस्थित सम्पर्क कार्यालयतर्फ आक्रमण प्रयास भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए।

दाङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार पक्राउ परेकाहरूविरुद्ध कुन शीर्षकमा मुद्दा दर्ता गर्ने भन्ने विषयमा कानुनी परामर्श भइरहेको छ।

यस घटनाले दाङको राजनीतिक वातावरण थप संवेदनशील बनेको छ। प्रहरी प्रशासनले सामाजिक सद्भाव र कानुनी व्यवस्था कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया