संकटपछि उद्योगीको नयाँ हौसला, सरकार र व्यवसायी बीच ऐतिहासिक सहकार्य

ecopolinews.com

काठमाडौं । मुलुक चुनौतीपूर्ण अवस्थाबाट बिस्तारै सामान्यतर्फ उन्मुख भइरहेका बेला सरकारले उद्योगी–व्यवसायीलाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँगको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अघि बढाउन निजी क्षेत्र अपरिहार्य साझेदार रहेको प्रष्ट पारे।


सचिवद्वयले आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै आवश्यक खाद्यान्न तथा उपभोग्य वस्तु पर्याप्त मौज्दातमा रहेको र आपूर्ति व्यवस्थामा कुनै बाधा नआउने विश्वास दिलाए। उनले उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, व्यापारी सबैलाई अनावश्यक सञ्चिति नगरी सहज आपूर्ति प्रवाहमा सहयोग गर्न आह्वान गरे। सरकार आयात सहज बनाउन कोरला नाका खुलाइसकेको, दक्षिणतर्फका नाकाहरू नियमित सञ्चालनमा आइसकेको र तातोपानी नाका खोल्ने प्रयास भइरहेको जानकारीसमेत दिइयो।

छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट निजी क्षेत्र प्रभावित भए पनि निराश नबनाई नयाँ जोशका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। आगजनी, लुटपाट र तोडफोडका कारण व्यवसायमा ठूलो क्षति भए तापनि उत्पादनमूलक उद्योग, होटेल, खुद्रा व्यवसायदेखि साना उद्योगहरूसम्म पुनः उठ्ने तयारीमा रहेको उनले बताए।

उनले सरकारसँग नजिक रहेर सहकार्य र समन्वय गर्दै अर्थतन्त्रलाई उकास्ने वातावरण बनाउन निजी क्षेत्र दृढ रहेको उल्लेख गरे। पाण्डेले सरकारको सहयोगले उद्योगीलाई थप आत्मविश्वास दिलाउने र निरन्तर उत्पादन–व्यापार गतिविधि अघि बढाउने बलियो आधार बन्ने विश्वास व्यक्त गरे।

सरकार र निजी क्षेत्रबीचको यस्तो साझा प्रतिबद्धता र सहकार्य मुलुकको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया