‘हामी देश छोडेर भागेका होइनौँ’: देउवा दम्पतीले गोप्य ठाउँबाट पठाए सम्पत्ति शुद्धीकरणलाई ४ पाना लामो इमेल, साउन २८ भित्र नेपाल फर्कने खुलासा!

ecopolinews.com

काठमाडौँ - नेपाली राजनीतिक वृत्तमा भूकम्प ल्याउने गरी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका अपदस्त सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई एक गोप्य इमेल पठाएका छन्। जेठ २८ गते (पत्रमा प्राविधिक त्रुटिवश २०८३/३/२८ उल्लेख भएको) पठाइएको उक्त ४ पेज लामो इमेलमार्फत देउवा दम्पतीले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने र विभागको अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने आधिकारिक जानकारी सरकारलाई गराएका हुन्।

आफूहरू हाल कुन देशमा रहेको भन्ने कुरा इमेलमा गोप्य राखेका देउवा दम्पती २०८२ फागुन १३ गते सिंगापुर प्रस्थान गरेका थिए। त्यसपछि हङकङमा समेत देखिएका उनीहरू त्यसयता कुन अज्ञात स्थलमा स्वास्थ्य उपचार गराइरहेका छन् भन्ने कूटनीतिक रहस्यकै विषय बनेको छ।

‘पक्राउ पुर्जी जारी गरेर नेपाल आउन गाह्रो नबनाइयोस्’

विभागका महानिर्देशकलाई सिधै सम्बोधन गरेर पठाइएको उक्त इमेलमा देउवा दम्पतीले मिडिया र राजनीतिक वृत्तमा आफूहरूविरुद्ध बनेको भाष्यप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले स्वास्थ्य उपचारका क्रममा मुलुक बाहिर रहेको अवस्थामा आफूहरूलाई ‘देश छाडेर भागेको र अनुसन्धानमा उपस्थित नभएको’ भन्ने जस्ता भाष्य सिर्जना नगर्न र पक्राउ पुर्जी जारी गरेर नेपाल प्रवेशमा कठिनाइ हुने अवस्था सिर्जना नगर्न सरकारसँग जोडदार अनुरोध गरेका छन्।

नेपाल प्रेसलाई प्राप्त उक्त इमेलमा देउवा दम्पतीले आफ्नो राजनीतिक उचाइ र जिम्मेवारीको दुहाई दिँदै लेखेका छन्:

“हामी दुवै निवेदकहरू सार्वजनिक उत्तरदायित्वको पदमा बसेको र देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्री जस्तो जिम्मेवारी वहन गरिसकेको राजनीतिक व्यक्ति भएको हुनाले हाम्रो उद्देश्य कुनै प्राविधिक आधारमा हाम्रो विरुद्धको अनुसन्धानलाई रोकछेक वा प्रतिरोध गर्ने होइन। बरु, कानुनसम्मत, खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको छ। अतः आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि तहाँ उपस्थित भई अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रूपमै स्पष्ट गर्न चाहन्छौँ।”

इन्टरपोलको ‘रेड कर्नर नोटिस’ को त्रास!

इमेलमा देउवा दम्पतीले आफूहरूविरुद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गत जेठ ११ गते नै अन्तरिम आदेश भइसकेको कुरा विभागलाई स्मरण गराएका छन्। तर, सरकारले उनीहरूलाई नेपाल ल्याउनका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी गरेपछि देउवा दम्पती दबाबमा परेको बुझिएको छ।

पत्रमा भनिएको छ, “उक्त मुद्दामा अन्तरिम छलफलको क्रममा हाम्राविरुद्ध अनुसन्धान जारी रहेको, तथापि कसुर पुष्टि गर्ने कुनै ठोस प्रमाण नभए पनि नेपालबाहिर रहेको हुनाले नेपाल ल्याउने प्रयोजनको लागि इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गर्नुपर्ने बाध्यता रहेको भनी जिकिर लिएको कुरा हाम्रा कानुन व्यवसायीहरूबाट जानकारी हुन आएको हुनाले यो निवेदन गरेका हौँ।”

‘जलेको घर र नातेदार रामबहादुरको बयान’

देउवाले पत्रमार्फत आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै गत असोज महिनामा परेको उजुरीपछि आफू नेपालमै रहँदा (फागुन १३ गतेसम्म) विभागले कुनै पत्र नकाटेको दाबी गरेका छन्। अचम्मको कुरा त के छ भने, देउवाले आफ्नो ध्वस्त भएको र जलेको भवनमा बसेका नातेदार रामबहादुर देउवालाई साक्षी राखेर विभागले खानतलासी गरिसकेको खुलासा गरेका छन्।

रीतपूर्वक प्रवेश पुर्जी दिई घरको सबै तल्ला तथा जलेर शेष भएका धातु र कागजातहरूको निरीक्षण गर्दा कुनै पनि बहुमूल्य वस्तु वा नगद फेला नपरेको कुरा खानतलासी मुचुल्काले नै प्रमाणित गरिसकेको जिकिर देउवाले गरेका छन्। अख्तियारलगायत कुनै पनि संवैधानिक निकायले आफूहरूमाथि छानबिन नगरेको र विभागको खानतलासीबाट समेत केही फेला नपरेकाले आफूहरू निर्दोष रहेको दाबी देउवा दम्पतीको छ। दुई महिनाको समय मागेर नेपाल फर्कने घोषणा गरेका देउवा दम्पतीको यो इमेलले नेपाली राजनीति र कानुनी वृत्तमा अब कुन नयाँ मोड लिने हो, त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया