३ कात्तिक, काठमाडौं । इजरायलमा हमास आक्रमणका क्रममा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइएकाछन्। आज दिउँसो नेपाली सेनाको विशेष विमानमार्फत उनकाे शव धनगढी विमानस्थलमा अवतरण गरिएको हो।
धनगढीमा केही समय राखिएको शव उनको जन्मथलो कञ्चनपुरको भिमदत्तनगरपालिका लगिँदैछ, जहाँ आजै अन्तिम दाह संस्कार गरिने तयारी गरिएको छ।
विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको भीषण आक्रमणका क्रममा बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा परिवारले आशा राखिरहेका थिए। अन्ततः गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरे।
हमास र इजरायलबीचको युद्धविराम र बन्दी साटासाट सम्झौतापछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षण र फरेन्सिक परीक्षणले अपहरणकै समयमा उनको मृत्यु भएको पुष्टि गर्यो।
विपिनको पार्थिव शरीरलाई स्वदेश ल्याउनु अघि तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरिएन विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। श्रद्धाञ्जलीका क्रममा उनको कफिनमा नेपाली राष्ट्रिय झण्डा ओढाइएको थियो — जसले उनलाई राष्ट्रका सच्चा पुत्रका रूपमा सम्मान गर्यो।
सुदूरपश्चिम प्रदेश सरकारले विपिनको परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
विपिन जोशीको असामयिक निधनले नेपाली समुदायमा गहिरो शोक र पीडा छाएको छ। देशका असंख्य युवाहरूका सपना, जो रोजगारी र अध्ययनका लागि विदेश गएका छन्, विपिनको कथामा यथार्थ र वेदना दुवै झल्किन्छ।