काठमाडौं – जेनजी आन्दोलनपछि लगातार दबाब र चुनौतीपूर्ण परिस्थितिमा काम गरिरहेका उपत्यकाका ट्राफिक प्रहरीका लागि शनिबार विशेष रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले तल्लो दर्जाका ५० प्रहरीलाई सिटी सेन्टरमा प्रदर्शन भइरहेको नेपाली फिल्म माइतीघर हेर्न पठाएको छ।
उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, यो कदम प्रहरीको मानसिक स्वास्थ्य र कामप्रतिको उत्साह बढाउन गरिएको हो। “सधैं तनावपूर्ण र दबाबयुक्त परिस्थितिमा काम गर्ने ट्राफिक प्रहरीका लागि मनोरञ्जनात्मक गतिविधि निकै आवश्यक हुन्छ,” उनले भने।
अघिल्लो हप्ता पनि उनीहरूलाई हाइकिङमा पठाइएको थियो भने आजको कार्यक्रममा एउटा टोलीलाई कार्यालय सरसफाई र अर्कोलाई फिल्म हेर्न पठाइएको छ। अधिकारीले बताए, यस्ता कार्यक्रमहरूले ट्राफिक प्रहरीको मानसिक तनाव घटाउन र उनीहरूको कार्यसम्पादन सुधार्न महत्वपूर्ण भूमिका खेल्छ।
एसएसपी अधिकारीले थपे, “जेनजी आन्दोलनपछि उपत्यकाका सम्पूर्ण ट्राफिक कार्यालय ध्वस्त भए। तर पनि हाम्रो टोलीले पुनःनिर्माणको कामसहित नियमित सेवा सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ। हामी प्रहरीलाई मात्र होइन, उनीहरूको भलाइका लागि पनि विशेष ध्यान दिइरहेका छौं।”
उपत्यकाका ट्राफिक प्रहरीका लागि यो प्रकारका कार्यक्रमले केवल मनोरञ्जन मात्र होइन, उनीहरूको मनोबल र सेवाप्रतिको प्रतिबद्धता पनि बढाउँछ। यस्तो पहलले प्रहरी र समुदायबीचको विश्वासलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।