काठमाडौं । वर्षको महान् पर्व बडादसैं आज घटस्थापनासँगै औपचारिक रूपमा सुरु भएको छ। आज बिहान ९:१३ बजे शुभ साइतमा घर–घरमा कलश स्थापनासहित जमरा राखी शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरिएको छ।
दशैंको पहिलो दिन घटस्थापना गरेर सुरु हुने नवरात्रमा क्रमशः नौ दुर्गाको पूजा आराधना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामले मनाइने छ।
धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौ मात्र रोप्ने शास्त्रीय नियम भए पनि कतिपय परिवारले परम्पराअनुसार अन्य अन्न पनि रोप्ने चलन छ। जमरा देवी दुर्गाको प्रिय वस्तु मात्र नभई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग हुने मान्यता छ।
यस पर्वको सातौं दिन फूलपाती, आठौं दिन महाअष्टमी, नवौं दिन महानवमी र दसौं दिन विजयादशमी विशेष रूपमा मनाइन्छ। यस वर्ष विजयादशमी असोज १६ गते परेको छ। टीका र जमरा ग्रहण गर्ने उत्तम साइत बिहान ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
हनुमानढोकाको दसैं घरमा समेत आजै घटस्थापना गरिएको छ। महानवमीका दिन त्यहाँ परम्पराअनुसार ५४ बोका र ५४ राँगाको बलि दिने प्रथा रहेको छ।
दसैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यस अवसरमा घर फर्की परिवारसँग मिलेर पर्व मनाउने परम्पराले यसलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि चिनिन्छ।