आर्थिक दृष्टिले पछाडि परिरहेको हुम्ला जिल्लामा कूल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले हाल वातावरणीय प्रभाव मूल्यांकन (EIA) कार्य अगाडि बढाइरहेको छ। आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्नेछ।
आयोजना खार्पुनाथ र सर्केगाड गाउँपालिकामा निर्माण हुने भएकाले स्थानीय समुदाय र वातावरणमा पर्ने प्रभावबारे विस्तृत अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ। सो अध्ययनका लागि मन्त्रालयले सार्वजनिक सल्लाह र सुझाव माग्दै सूचना प्रकाशित गरिसकेको छ।
यो आयोजना निर्माणका लागि ४७.१३ हेक्टर जमिन आवश्यक पर्नेछ। वातावरण संरक्षण ऐन, २०७६ अनुसार ५० मेगावाटभन्दा माथिका सबै आयोजना EIA अनिवार्य हुने प्रावधान अनुसार नै प्रक्रिया अघि बढाइएको हो।
नदी प्रवाहमा आधारित यो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख परियोजनाका रूपमा रहेको छ। वर्षभरि बहने हिमनदी ‘हुम्ला कर्णाली’मा बन्ने भएकाले यसको रणनीतिक र ऊर्जात्मक महत्व अत्यधिक रहेको बताइएको छ।
आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेन्ड रहनेछ। यसका लागि दुईवटा डाइभर्सन सुरुङ निर्माण गरिनेछन् — जसको लम्बाइ क्रमशः ५४५ मिटर र ५४२ मिटर तथा व्यास ९.५ मिटर हुनेछ।
आयोजनाबाट सुक्खा याममा ६०९.८९ गिगावाट घण्टा र वर्षा याममा १,१८४.८३ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ।
उत्पादित बिजुलीलाई २० किलोमिटर लामो चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिने योजना छ।
आयोजना निर्माणका क्रममा ५६ घरधुरी प्रभावित हुनेछन् भने १ सय ८८ वटा रुख कटान गर्नुपर्नेछ। प्रतिमेगावाट लागत रु २१ करोड ७६ लाखका दरले कुल लागत रु ७२ अर्ब ९० करोड ८० लाख रहने अनुमान गरिएको छ।
निर्माण चरणमा करिब १,८०५ जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ भने सञ्चालन चरणमा ११५ जना स्थायी रूपमा रोजगार पाउनेछन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा ऊर्जा सुरक्षाको सुदृढ आधार बन्ने अपेक्षा गरिएको यो आयोजना, नेपालकै जलविद्युत् क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने सम्भावना बोकेको महत्त्वाकांक्षी परियोजनाका रूपमा हेरिएको छ।