भृकुटीमण्डपमा आज नेकपाको शक्ति प्रदर्शन, ५० हजारको सहभागिता दाबी

ecopolinews.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा भव्य एकता सन्देश सभा आयोजना गर्दैछ। भृकुटीमण्डपमा हुने सभामा करिब ५० हजार जनसहभागिता रहने पार्टीको अनुमान छ।

बागमती प्रदेश, विशेष प्रदेश तथा सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभाबारे जानकारी दिँदै नेता रामकुमार भट्टराईले व्यापक तयारी गरिएको बताए। उनका अनुसार आज बिहान ११:३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुसहरू भेला हुनेछन्। ती जुलुस एकीकृत भई १२:१५ बजेपछि भृकुटीमण्डपतर्फ अघि बढ्ने कार्यक्रम छ।

जुलुस बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डप प्रवेश गरी सभामा परिणत हुनेछ। जुलुसको नेतृत्व पार्टीको दोस्रो तहका नेताहरूले गर्नेछन् भने शीर्ष नेताहरू भने जुलुसमा सहभागी नहुने र सिधै मञ्चमा उपस्थित हुने बताइएको छ।

सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभा भृकुटीमण्डपस्थित तीनकुने सडक खण्डमा केन्द्रित हुनेछ।

उल्लेखनीय छ, गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वामपन्थी घटकहरू एकताबद्ध भई नेकपा गठन भएको थियो। सोही पार्टी एकताको सन्देश देशव्यापी रूपमा प्रवाह गर्न मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभाहरू गर्दै आएको नेकपाले जनाएको छ।

आजको काठमाडौँ सभा उक्त अभियानको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ, जहाँ पार्टीले एकता, संगठन सुदृढीकरण र भावी राजनीतिक दिशाबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया