रविन्द्र कट्टेल - काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँका प्रतिनिधिहरूसँग गरिएको अनौपचारिक छलफललाई तोडमोड गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडेर सार्वजनिक गरिएका समाचारहरूको प्रष्ट खण्डन गरेका छन्।
अध्यक्ष ओलीको सचिवालयले बिहीबार जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘ओलीले बोलेका भनाइलाई हवाला दिँदै कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना पूर्णतः भ्रामक, मनगढन्ते र स्वार्थपूर्ण देखिएका छन्।’
सचिवालयका अनुसार, काठमाडौँका प्रतिनिधिसँगको भेटमा ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक संघर्ष, व्यक्तिगत स्वार्थका कारण आन्दोलनले भोगेका क्षति, एमालेको ताजा नीति, केन्द्रीय कमिटीका निर्णय र वर्तमान सरकारले सुशासन तथा विकासका क्षेत्रमा गरिरहेका सकारात्मक कामबारे धारणा राखेका थिए।
तर, केही सञ्चारमाध्यमहरूले ओलीको भनाइलाई तोडमोड गर्दै ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन’ भन्ने जस्ता वाक्यलाई प्रचार गरेको सचिवालयले स्पष्ट खण्डन गरेको छ।त्यसैगरी, सचिवालयले पूर्व राष्ट्रपति भण्डारीप्रति ओलीको सम्मानलाई दोहोर्याउँदै भनेको छ –
‘ओलीले उहाँलाई जति माया र आदर गरेका छन्, अरू नेताले त्यति गरेका छैनन्। तर, पार्टी नेतृत्वको विरोध गर्ने स्थितिमा उहाँ कसरी पुग्नुभयो भन्नेमा ओली स्वयं आश्चर्यमा परेका छन्।’ओलीले पूर्व राष्ट्रपति भण्डारीले औपचारिकरूपमा पार्टी सदस्यता नलिएर मिडिया र अन्य नेताहरूसँग भेटघाटमार्फत सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेत गरेको कुरा पार्टीको आन्तरिक एकता र लक्ष्यविपरीत रहेको धारणा राखेको सचिवालयले जनाएको छ।
प्रेस नोटमा भनिएको छ, ‘यस्ता गतिविधिले पार्टी एकतालाई कमजोर बनाउँछन्, त्यसैले केन्द्रीय कमिटीले उहाँलाई सदस्यता दिने हो भने आन्दोलनको गौरव र उहाँको राजनीतिक सम्मानमा नै आँच पुग्ने ठहर गरिएको हो।’